काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपालका बीमा कम्पनीहरूले अन्तर्राष्ट्रियस्तरमा राम्रो रेटिङ भएका पुनर्बीमा कम्पनीहरूमा पुनर्बीमा गर्न सकून् र बीमा दाबी सुनिश्चित हुन सकोस् भनेर प्राधिकरणले आवश्यक व्यवस्था गरेको बताएका छन् ।
नेपाल बीमा प्राधिकरणद्वारा मंगलबार विराटनगरमा उद्योग सङ्गठन मोरङसँग बीमासम्बन्धी समसामयिक विषयमा आयोजित अन्तरक्रिया एवम् छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले सम्पत्ति बीमादर निर्देशिकामा करिब ९० प्रतिशतको बीमादर घटाइएको र जोखिमका आधारमा कुनै–कुनैको बीमादर मात्रै बढेको स्पष्ट गरे ।
अध्यक्ष सिलवालले भने, ‘अन्तर्राष्ट्रिस्तरमा राम्रो रेटिङ भएका पुनर्बीमा कम्पनीहरूले न्यून बीमादरमा पुनर्बीमा स्वीकार नगर्ने भएकाले नेपालका केही बीमा कम्पनीले ‘नन् रेटिङ’ भएका पुनर्बीमा कम्पनीमा पुनर्बीमा गरेका छन्, जसका कारण पुनर्बीमकबाट कतिपय अवस्थामा दाबी रकम नपाउँदा बीमकबाट दाबी भुक्तानीमा ढिलाइ हुने गरेको छ, यसका बारेमा प्राधिकरणले गम्भीर अध्ययन गरिरहको छ ।’ अध्यक्ष सिलवालले बीमा कम्पनीले राम्रो रेटिङ भएका पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्न सकून र दाबी सुनिश्चित होस् भनेर अन्तर्राष्ट्रिय सिद्धान्त र पर्याप्त अध्ययन समेतका आधारमा सम्पत्ति बीमादर निर्देशिका ल्याइएको स्पष्ट गरे ।
उद्योगी व्यवसायीहरूले राखेका प्रश्नहरूको जवाफ दिँदै अध्यक्ष सिलवालले भने, ‘सामुद्रिक बीमादरसम्बन्धी निर्देशिका, २०६५ बमोजिम ५० करोड रुपैयाँको सामान आयात गर्दा बीमितले पाउने २० प्रतिशत छुट तत्कालै दिन बीमा कम्पनीहरूलाई निर्देशन दिइएको छ, प्राधिकरणमा बीमितबाट आएका गुनासा एवम् उजुरीमध्ये ९५ प्रतिशत बीमितको पक्षमा फैसला भएको छ, प्राधिकरणका प्रादेशिक कार्यालयमा समेत दाबीसम्बन्धी उजुरी लिने व्यवस्था गरिएको छ ।’