काठमाडौं । बिहीबार काठमाडौंमा नेपाल नगरपालिका सङ्घको आयोजनामा भएको राष्ट्रिय शहरी सरसफाइ सम्मेलन, २०२३ लाई सम्बोधन गर्दैखानेपानी तथा सरसफाइमन्त्री महिन्द्र राय यादवले जनसङ्ख्याको आधारमा स्थानीय तहमा बजेट विनियोजन हुनुपर्ने बताएका छन् ।
उनले स्थानीय तहमा विकासको बजेट समुचित विनियोजन हुनुपर्ने बताउँदै सबै क्षेत्रको विकास जनसङ्ख्या र भूगोलको आधारमा हुनुपर्ने बताए । देशको मानव सूचकाङ्कको आधारमा विकासको बजेट छुट्याउनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गानाले सङ्घ, प्रदेश र स्थानीय तह नमिली कुनै पनि विकास निर्माणका काम सम्पन्न हुन नसक्ने बताए । उनले सङ्घ सरकारले स्थानीय तहलाई दिनुपर्ने अधिकार चाँडोभन्दा चाँडो दिनुपर्ने बताए । उनले स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाउन अब ढिलो गर्न नहुने बताए ।