काठमाडौं । आम नेपाली जनतासँग प्रत्यक्ष जोडिएका पूर्व–पश्चिम राजमार्गको धनुषाको कमलादेखि सप्तरीको कञ्चनरूप, मुग्लिनदेखि पोखरा र नारायणगढदेखि बुटवलसम्मका सडक विस्तारको ठेक्का चिनियाँ ठेकेदारले पाएका छन् । ती सडक योजनामा समयमै काम नगर्दा आम नागरिकमा चिनियाँ निर्माण कम्पनीप्रति चरम आक्रोश छ ।
चिनियाँले सडक भत्काउने तर सामान्य मर्मत पनि नगर्ने गर्दा सडकमा खाल्डैखाल्डा मात्र होइन पानी परेपछि हिलो र पानी नपरेको बेला धुलोको कारण सडक प्रयोगकर्ता र स्थानीय मारमा छन् । नेपाल सरकारले ती सडकमा धमाधम काम गर्न पटक–पटक निर्देशन दिन्छ तर चिनियाँले सुनेको नसुनेझैँ गरिरहेका छन् । कहिले काम गरेको जस्तो गर्छन् त कहिले साइडमा देखा नै पर्दैनन् । विभिन्न बहाना बनाउँदै उनीहरू काममा ढिला गरिरहेका छन् ।
त्यो मात्र होइन मेलम्ची खानेपानी आयोजनाको काम पनि चिनियाँले बीचमै छाडेर अलपत्र पारेका थिए । अन्य विभिन्न आयोजनाहरूमध्ये जुन–जुनमा चिनियाँले ठेक्का पारेका छन् ती अधिकांशमा समयतालिकाअनुसार काम नगरिदिँदा नेपालका सरकारी अधिकारीहरू पनि चिनियाँसँग आजित आएका छन् । जनतामा पनि चरम आक्रोश र निराशा छ । तर, चिनियाँहरू एकपछि अर्को बहाना बनाउँदै कामलाई ढिला बनाइरहेका छन् । जलविद्युत् आयोजनाहरूमा पनि चिनियाँले राम्रोसँग समयमै काम गरिरहेका वा सम्पन्न गरेका उदाहरण कमै मात्र छन् ।
नेपालको पूर्वाधार निर्माण क्षेत्रमा चिनियाँ निर्माण व्यवसायीहरूको चरम लापरबाही बढिरहेको बेला अहिलेसम्म एउटा आयोजना भने यस्तो अपवादको रूपमा देखिएको छ कि जहाँ चिनियाँले आफ्नो समयतालिकाअनुसार काम गरिरहेका छन् । यसबाट नेपालका सरकारी अधिकारीहरू पनि चकित छन्, चीनले समयतालिकाअनुसार नै ठ्याक्कै काम गरिरहेको छ ।
त्यो आयोजना हो, केरुङ–काठमाडौं रेलमार्गको सर्भेको काम । गतवर्ष अर्थात् २०७९ साल पुस १२ गते नेपाल आएर केरुङ–काठमाडौं रेलमार्गको सर्भे थालेको चिनियाँ टोली पछिल्लो समय काठमाडौंको झोर–साङ्लेखोला क्षेत्रमा केन्द्रित छ । उसले अहिले नेपाल–चीनको सीमा क्षेत्र रसुवागढीदेखि रसुवाका विभिन्न भाग हुँदै नुवाकोटबाट काठमाडौंमा प्रवेश गरेर एरियल सर्भे अर्थात् आकाशबाट फोटो र भिडियो खिचेर नक्सा बनाउने काम गरिरहेको छ । बिहीबार चिनियाँ सर्भेको टोलीले रेल विभागका महानिर्देशक रोहितकुमार बिसुराललाई नै काठमाडौंको झोर–साङ्लेखोला क्षेत्रमा लगेर ड्रोन उडाएरै सर्भेको काम देखाए । पहिला हवाई जहाजबाट यस्तो एरियल सर्भे गर्ने गरिएकोमा अहिले भने ड्रोन उडाएर त्यस्तो सर्भे गरिन्छ । ड्रोन उडाउन नेपालका विभिन्न सरकारी निकायबाट पूर्वस्वीकृत लिनुपर्ने हुन्छ । नेपालका सरकारी निकायहरूले पनि समयमै स्वीकृति दिएका कारण एक वर्षको अवधिमा उक्त केरुङ–काठमाडौं रेलमार्गको नेपालतर्फको भागको एरियल सर्भेको काम सकिने अवस्थामा पुगेको छ । उनीहरूले रसुवा, नुवाकोटमा जस्तै काठमाडौंमा पनि सर्भेको काम निर्बाधरूपमा गरिरहेका छन् ।
‘चिनियाँ सरकारको अनुदानमा अहिले केरुङ–काठमाडौं रेलमार्गको एरियल सर्भे भइरहेको छ’, रेल विभागका महानिर्देशक विसुरालले बिहीबार आर्थिक दैनिकसित भने, ‘चिनियाँ कम्पनीले नेपालका विभिन्न आयोजनाहरूको ठेक्का लिएर समयमा काम नगरेको गुनासो सुनिरहेको हामी नेपालीको लागि उसले अहिले रेलमार्गको सर्भे भने पूर्वनिर्धारित समयतालिकाअनुसार धमाधम गरिरहेको छ । उसले एक वर्षमा सक्ने भनेर घोषणा गरेको काम एक वर्षमै सक्ने देखिएको छ । यसबाट हामी चकित भएका छौँ ।’ महानिर्देशक बिसुरालका अनुसार चिनियाँको मागअनुसार नेपाल सरकारले पनि धमाधम निर्णय गरिदिँदा अहिलेसम्मको सर्भेको काम पूर्वनिर्धारित समयतालिकाअनुसार नै भएको हो ।
महानिर्देशक बिसुरालका अनुसार ४२ महिनाभित्रमा सर्भे सक्नेगरी रेल विभाग र चीनको चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट (एफएसडीआई) बीच गतवर्ष सम्झौता भएको थियो । उसले के–के काम कति महिनामा सक्ने भनेर समयतालिका नै बनाएको थियो । पहिलो वर्षको काम भने समयतालिकाअनुसार नै भएको छ । उक्त सर्भेको काम चीन सरकारकै अनुदान सहयोगमा भएको हो । सर्भेका लागि चीन सरकारले करिब ३३ करोड नेपाली रुपैयाँ उपलब्ध गराउने उल्लेख थियो । सर्भेको पैसा चीन सरकारले दिनेछ भने सर्भे गरिरहेको कम्पनी एफएसडीआई पनि चीनको सरकारी कम्पनी हो । सहयोग दिने र काम गर्ने दुवै चीनको सरकारी निकाय भएको कारण काममा कुनै ढिलाइ भएको छैन । ‘सायद काम गर्नेभन्दा पैसा दिने सरकारी निकाय उच्च भएको कारणले पनि हुन सक्छ रेलमार्गको सर्भेको काम समयतालिकाअनुसार भइरहेको’, महानिर्देशक बिसुरालले भने ।
अहिलेको सर्भेको गति हेर्ने हो भने केरुङ–काठमाडौं रेलमार्ग चाँडै देख्न पाइने विश्वासमा महानिर्देशक बिसुराल छन् । ‘राजनीतिक कुरा मलाई थाहा भएन, अहिलेकै गतिमा काम हुने भने साढे तीन वर्षमा सर्भेको काम सकिएर प्रतिवेदन आउँछ । त्यसपछि पनि यस्तै गतिमा काम भयो भने केरुङ–काठमाडौं रेलमार्ग देख्न धेरै समय लाग्दैन ।’ सडकमा चिनियाँ कम्पनीको चरम लापरबाहीबाट आजित भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरू केरुङ–काठमाडौं रेलमार्गको सर्भेको काममा चिनियाँ टोलीले गरेको कामप्रति आश्चर्यचकित छन् ।
चिनियाँ कम्पनीले रेलमार्गको जमिन नाप्ने काम पनि प्रारम्भिकरूपमा सकिसकेको छ । त्यसपछि भौगर्भिक अध्ययनमा उसले ध्यान दिनेछ । भौगर्भिक अध्ययनमा जमिनभित्रको विस्तृत अध्ययन हुनेछ । त्यसमा पानीको मात्रा कहाँ–कहाँ कस्तो छ, खानी छ वा छैन ? जमिनभित्र चट्टान र माटोको अवस्था कस्तो छ जस्ता कुरा पत्ता लाग्नेछ । ती अध्ययनले मोटामोटीरूपमा उक्त आयोजना आर्थिक र प्राविधिकरूपमा कतिको सहज वा जटिल छ भन्ने किटान हुनेछ । चीनको केरुङबाट काठमाडौंसम्म रेलमार्ग आएमा नेपालको व्यापार उत्तरतिरबाट पनि विश्वव्यापी हुने अपेक्षा नेपालीहरूको छ ।