काठमाडौं । ग्राहकको रोजाई अनुसार बालिकाहरू उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । टोखा नगरपालिका–९ नयाँ बसपार्क बस्ने नुवाकोट तादी गाउँपालिका घर भएका २४ वर्षीय सुमन तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
नयाँबसपार्कमा रहेका विभिन्न होटल तथा गेष्ट हाउसहरुमा बालिकाहरुलाई ललाईफकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौनजन्य कार्यमा लगाउने गरेको सूचनाको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले यौनजन्य कार्यमा लगाइएका चार जना बालिकाहरुलाई उद्धार गरी उक्त कार्यमा संलग्न सुमनलाई पक्राउ गरेको हो ।
आर्थिक अवस्था कमजोर भएका बालिकाहरुलाई ललाई फकाई होटल/गेष्ट हाउसहरुमा वेटर तथा सरसफाईको काममा लगाई दिने भन्दै तामाङले यौनजन्य कार्यमा लगाउने गरेको र पीडित बालिकाहरुलाई बिगत ५ महिनादेखि होटल/गेष्ट हाउसहरुबाट बाहिर समेत निस्कन नदिई जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य गरिरहेको जनाएको छ ।