काठमाडौं । वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिन्छु भनि लाखौं ठगी गरी सम्पर्कविहिन एक युवा पक्राउ परेका छन् । एक महिलालाई पोल्याण्ड पठाइदिन्छु भन्दै एक लाख ८० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका धनकुटा उपमहानगरपालिका घर भई हाल भक्तपुरस्थित बालकोट बस्ने २५ वर्षीय प्रदिप बुढाथोकी पक्राउ परेका हुन् ।
बुढाथोकीले कल्पना विश्वकर्मालाई एक लाख २० हजार रुपैयाँ तलबमा पोल्याण्डको एक प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु भन्दै उक्त रकम लिएका थिए । पोल्याण्ड जानका लागि प्रति व्यक्ति सात लाख ५० हजार रुपैयाँ लाग्छ र पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु भनी प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी एक लाख ८० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका बुढाथोकीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीले बुढाथोकीको खोजतलास गर्ने क्रममा बिहीबार साँझ नयाँ बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जनाएको छ ।