काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको छैठौँ वार्षिक साधारणसभा आज(शुक्रबार) सुनसरीमा सम्पन्न भएको छ । उक्त सभाले विभिन्न एजेन्डासहित संस्थाको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, नाफानोक्सान हिसाब र नगदप्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरी सभाले संस्थाको शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशतका दरले २६ करोड नौ लाख १६ हजार नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसका साथै, उक्त सभामा प्रचलित कानून तथा विद्यमान व्यवस्था अनुसार सञ्चालन गरिएको निर्वाचन कार्यक्रमबाट संस्थापक एनआईसी एशिया बैंकको तर्फबाट मनोनित भई प्रतिनिधित्व गरेका दिपक ढकाल निर्विरोध उक्त सञ्चालक पदमा निर्वाचित भएका छन् ।
नव निर्वाचित सञ्चालक दिपक ढकालले संस्थाका अध्यक्ष सन्तोष कुमार राठीसमक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् । बैंकिङ्ग क्षेत्रमा लामो समयदेखि कार्यानुभव रहेको दिपक ढकाल एनआईसी एशिया बैंकमा प्रमुख जोखिम अधिकृतमा कार्यरत छन् ।