काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले लाभांश घोषणमा ढिलाइ गरेका छन् । बैंक तथा वित्तीय संस्था सञ्चालनसम्बन्धी ऐन तथा कम्पनी रजिस्टर्ड ऐनअनुसार कम्पनीहरूले आर्थिक वर्ष सुरु भएको छ महिनाभित्र गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरी वार्षिक साधारणसभामा लैजानुपर्छ । तर, अहिलेसम्म सञ्चालनामा रहेका ५७ वटा लघुवित्त वित्तीय संस्थामध्ये १५ वटाले मात्रै आर्थिक वर्ष २०७९/०८० को खुद मुनाफाबाट लाभांश घोषणा गरेका छन् । तीमध्ये केहीले वार्षिक साधारणसभा सम्पन्न गरी लाभांश पारित गरिसकेका छन् । अझै ४२ वटा संस्थाहरूले लाभांश घोषणा गर्न बाँकी देखिएको छ ।
लाभांश घोषणा गरेका लघुवित्त वित्तीय संस्थाहरूमध्येमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/०८० को खुद मुनाफामध्येबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । यस्तै जीवन विकास लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७३ प्रतिशत नगदसहित कुल १४ दशमलव ७३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
छिमेक लघुवित्त वित्तीय संस्थाले पनि पाँच प्रतिशत बोनस सेयर र १० प्रतिशत नगदसहित कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । समता घरेलुले पाँच दशमलव ४२ प्रतिशत बोनस र शून्य दशमलव २८ प्रतिशत नगदसहित पाँच दशमलव सात प्रतिशत लाभांश घोषणा गरेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगदसहित कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ भने साना किसान विकास लघुवित्त वित्तीय संस्थाले १४ दशमलव २५ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७५ प्रतिशत नगदसहित कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले पनि सात दशमलव पाँच प्रतिशत बोनस सेयर र सात दशमलव पाँच प्रतिशत नगद लाभांससहित कुल १५ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ ।
यसैगरी, धौलागिरी लघुवित्त वित्तीय संंस्थाले १४ दशमलव २५ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७५ प्रतिशत नगदसहित १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ भने सपोर्ट लघुवित्त वित्तीय संस्थाले १३ प्रतिशत बोनस सेयर र शून्य दशमलव ६८ प्रतिशत नगदसहित कुल १३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १२ दशमलव ३५ प्रतिशत बोनस र शून्य दशमलव ६५ प्रतिशत नगदसहित कुल १३ दशमलव शून्य एक प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत नगद लाभांश मात्र वितरण गर्ने घोषणा गरेको छ । यसैगरी आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आठ दशमलव छ प्रतिशत बोनस र शून्य दशमलव ४५ प्रतिशत नगदसहित कुल नौ दशमलव शून्य पाँच प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत नगद लाभांश मात्र वितरण गर्ने घोषणा गरेको छ ।
समाज लघुवित्त वित्तीय संस्थाले शून्य दशमलव ७५ प्रतिशत बोनस सेयर र १४ दशमलव २५ प्रतिशत नगदसहित १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लक्ष्मी लघुवित्त, गणपति लघुवित्त, सीवाईसी नेपाल लघुवित्त, इन्फिनिटी लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, नाडेप लघुवित्त वित्तीय संस्थाहरूले कुनै पनि किसिमको लाभांश नदिने भएका छन् । यी संस्थाहरूले वार्षिक साधारणसभाको मिति समेत घोषणा गरिसकेका छन् ।