इटहरी । नेपाल टेलिभिजन इटहरी च्यानलको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमले जनताको आवाज बोल्नुपर्ने बताइन् ।
उनले सरकारी सञ्चारमाध्यमले सरकारको सन्देश सार्वजनिक गर्ने मात्र होइन, सरकार र जनताबिचको पुलको भूमिका निर्वाह गर्नुपर्ने बताइन्। नेपाल टेलिभिजनले गाउँमा छरिएर रहेका प्रतिभालाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्नतिर लाग्नुपर्ने शर्माले बताइन्।
उनले नेपालको मौलिक र लोकसंस्कृतिलाई प्रोत्साहन गर्ने सामग्री निर्माण र प्रसारणमा जोड दिन पनि आग्रह गरिन् । नेपाली समाजको बहुल संस्कृतिलाई उचित स्थान दिएर सबै भाषाभाषीलाई अघि बढाउन सरकारी सञ्चारमाध्यमले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेकोमा खुशी व्यक्त गरिन् ।