काठमाडौं । समस्यामा परेका ऋणीले बक्यौता रहेको ब्याजको १० प्रतिशत भुक्तानी गरेमा कर्जा पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न पाउने भएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत परिस्थितिजन्य समस्यामा परेका ऋणीलाई कर्जा पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरेको थियो । सोही व्यवस्था कार्यान्वयनका लागि आइतबार बैंक तथा वित्तीय संस्थालाई सर्कुलर जारी गरेको हो ।
कर्जाको पुनर्संरचना वा पुनर्तालिकीकरण गर्दा बैंक तथा वित्तीय संस्थाले विभिन्न चार सर्त पूरा गर्नुपर्ने व्यवस्था गरेको छ । पहिलो सर्त पुनर्तालिकीकरण वा पुनर्संरचना २०८० चैत मसान्तभित्र गरिसक्नुपर्नेछ । यस्तै, २०८० असार मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई पुनर्संरचना गर्न सकिनेछ । तर, यस्तो कर्जामा पाँच प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने प्रबन्ध गरिएको छ । त्यसरी पुनर्तालिकीकरण गरिएको कर्जाहरूलाई जुन वर्गमा वर्गीकरण गरिएको छ सोही वर्गमा वर्गीकरण गर्नुपर्ने सर्त राखेको छ ।
बैंक तथा वित्तीय संस्थाले परिस्थितिवश समस्यामा परेका ऋणीहरूको हकमा कृषि तथा वन, माछापालन, खानी र पेयपदार्थ उत्पादन (सुर्ती प्रशोधन र मदिराजन्यबाहेक) सँग सम्बन्धित उद्योगको कर्जाका लागि यस्तो सुविधा दिनसक्ने व्यवस्था गरेको छ ।
यस्तै, गैरखाद्य वस्तु उत्पादन, धातुका उत्पादनहरू, मेसिनरी तथा इलेक्ट्रोनिक औजार तथा जडान, यातायात, भण्डार र सञ्चार, थोक तथा खुद्रा बिक्री, पर्यटन, शिक्षा एवं स्वास्थ्य, निर्माण, सिमेन्ट, डन्डी, इँटा/ब्लक, पाइप्स एन्ड फिटिङलगायत उद्योगमा प्रवाहित कर्जाले उक्त सुविधा उपभोग गर्न पाउनेछन् ।
‘अन्य सबै क्षेत्रमा प्रवाह भएका पाँच करोड रुपैयाँसम्मका कर्जालाई ऋणीको अनुरोधमा उद्योग/व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी देहायका सर्तहरूको अधीनमा रही कर्जाको पुनर्तालिकीकरण र÷वा पुनर्संरचना गर्न सकिनेछ’, एकीकृत निर्देशनमा भनिएको छ ।
गत कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरको पुनर्निर्माणका लागि सरकार वा सरकारले तोकेका निकायले भूकम्पबाट प्रभावितका रूपमा सूचीकरण गरेको परिवारलाई प्रदान गर्ने २५ लाख रुपैयाँसम्मको आवासीय घरकर्जामा आधार दरमा अधिकतम दुई प्रतिशतसम्म प्रिमियम थप गरी ब्याजदर कायम गर्नुपर्ने व्यवस्था पनि केन्द्रीय बैंकले गरेको छ ।