काठमाडौं । कुनै पनि संस्थाको प्रमुख राजनीतिक आस्था एवं कुनै पनि व्यक्ति, समूह वा नेतृत्वको गोटी बनेर संस्थाको नेतृत्व गर्छ भने त्यो संस्थाको अवस्था कस्तो हुन्छ ?, त्यस्तो संस्थालाई हेर्ने नागरिकको दृष्टिकोण कस्तो बन्छ ? भन्ने कुरा यतिखेर नेपाल धितोपत्र बोर्ड र यसका अध्यक्ष रमेशकुमार हमाललाई हेरे पुग्छ । निजी क्षेत्र र राजनीतिक दलको स्वार्थमा एकातिर पैसा राखेर र अर्कोतिर ब्रोकर कम्पनीको लाइसेन्स बाँडेका बोर्डका अध्यक्ष हमालले सो पद आफ्नो व्यक्तिगत क्षमता र बलबुताले नभई नेपाली कांग्रेसको आशीर्वादबाट पाएका हुन् ।
पद पाएदेखि नै हमालले ब्रोकर कम्पनीहरूलाई नयाँ लाइसेन्स दिएर केही व्यक्ति तथा समूहको स्वार्थअनुरूप काम गरेर करोडौँ रूपैयाँ कुम्ल्याउन सफल भइसकेका छन् । यतिले मात्र नपुगेर बोर्डका अध्यक्ष हमाल अहिले सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्ज लिमिटेडको अस्तित्व नै धरापमा पर्ने गरी निजी क्षेत्रलाई अर्को स्टक एक्सचेन्जको लाइसेन्स दिने तयारीमा जुटेका छन् । निजी क्षेत्रको यही स्वार्थ सिद्ध गर्नको लागि हमाल नेपाल धितोपत्र बोर्डका अध्यक्ष भएर आएका हुन् ।
अध्यक्ष हुँदा पनि हमाल निकै नै विवादित बनेका थिए । डोटीको सिलगढीमा जन्मिएका हमाल सन् २००७ देखि सन् २०१० सम्म गैरआवासीय नेपाली संघ थाइल्याण्डको अध्यक्ष बनेका थिए भने उनी थाई नेपाल चेम्बर अफ कमर्स बैंककको उपाध्यक्ष समेत बनेका थिए । यस अर्थमा हमाल गैरआवासीय नेपाल (एनआरएन) हुन् । एनआरएनले विदेशी नागरिकता त्यागेर नेपाली नागरिकता नलिएसम्म कुनै पनि सार्वजनिक संस्थाको प्रमुखको रूपमा काम गर्न हैसियत पाउँदैन । तर, हमालको हकमा केही स्वार्थसमूहकै निर्देशनमा कानुनकै धज्जी उडाउँदै धितोपत्र बोर्डको अध्यक्ष बनाइयो ।
बोर्डका तत्कालीन अध्यक्ष भिष्मराज ढुंगाना सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ सेयर खरिद प्रकरणमा मुछिएपछि पदमुक्त भएका थिए । त्यसपछि हमालले बोर्डमा अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् । मन्त्रिपरिषद्को २०७८ फागुन ५ गतेको बैठकले हमाललाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।
धितोपत्र बोर्डको नियमअनुसार अध्यक्षको कार्यकाल चार वर्षको हुन्छ । तर, आफ्नो कार्यकालको दुई वर्ष बाँकी रहँदै सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा आर्थिक अपचलनमा मुछिएपछि तत्कालीन अध्यक्ष ढुंगाना बोर्डबाट हटेपछि हमालले नेपाली कांग्रेसको विशेष अनुग्रहमा उक्त पद बक्सिसमा पाएका थिए । त्यो समयदेखि नै भ्रष्टाचारमा लिप्त भएका हमालको कार्यकाल सकिन अब केही हप्ता मात्र बाँकी छ । बोर्डमा अध्यक्षको चारवर्षे कार्यकाल हुनेमा यसअघिका अध्यक्ष ढुंगानाले दुई वर्ष अध्यक्ष पद खाइसकेका छन् । बाँकी रहेको कार्यकालको लागि नियुक्त भएका हमालको दुईवर्षे कार्यकाल पूरा हुन पनि अब केही हप्ता मात्र बाँकी छ । यो अवस्थामा हमाल अहिले जसरी पनि निजी क्षेत्रलाई नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिएर करोडौँ रूपैयाँ कुम्ल्याउने दाउमा छन् ।
नियमअनुसार कुनै पनि सरकारी संस्थानमा प्रमुखको पद सकिन एक महिना बाँकी रहँदा नै दोस्रो व्यक्तिको नियुक्तिको प्रक्रिया सुरु गर्न एक महिना बिदामा बस्ने प्रचलन छ । तर, यी सबै कुरालाई धज्जी उडाउँदै गैरआवासीय नेपाली हमाल बिदामा बसेका छैनन् । उनी जसरी नै निजी क्षेत्रलाई स्टक एक्सचेन्जको लाइसेन्स दिनको लागि साम, दाम, दण्ड र भेद सबै नीति अवलम्बन गरेर लागेका छन् । उनलाई यही उद्देश्य पूरा गर्नको लागि नै कांग्रेसले बोर्डको अध्यक्ष बनाएको थियो । यसमा कांग्रेसनिकट व्यापारिक समूहले हमाललाई बोर्डमा ल्याउन ठूलो लगानी गरेका थिए । अहिले त्यही लगानी उठाउन त्यो समूह लागिपरेको छ भने अध्यक्ष हमाल जसरी पनि त्यही समूहलाई स्टक एक्सचेन्जको लाइसेन्स दिन आफ्नो न्वारनदेखिको बल लगाएर लागिपरेका छन् ।