विराटनगर । लेनदेन ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर-१० का ४८ वर्षीय चण्डेश्वर सहनीको सोमबार बिहान कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनले विराटनगरस्थित मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका थिए । सोमबार उनको कैद भुक्तान सकिने दिन थियो ।
लेनदेन मुद्दामा साहनीलाई मोरङ अदालतले २०७८ मङ्सिर २० गते १० महिना २२ दिन कैद सजायको फैसला सुनाएको थियो । अदालतले फैसला गरेपछि उनी फरार थिए । २०७९ माघ १७ गते पक्राउ परेपछि उनलाई अदालतमा उपस्थिति गराएर कारागार चलान गरिएको थियो । उनले २०७९ माघ १७ गतेदेखि कारागारमा कैद भुक्तान गर्दै आएका थिए ।
मोरङ कारागारका निमित्त जेलर कृष्णहरि न्यौपानेले पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि कारागार प्रशासनले उनलाई अस्पतालमा भर्ना गराएको जानकारी दिए । उपचारको क्रममा उनको मृत्यु भएको हस्पिटलले जनाएको छ । मृतकका आफन्तहरूले भने उपचारमा लापरबाही गरेको भन्दै अहिले अस्पताल परिसरमा नाराबाजी सुरु गरेका छन् ।