काठमाडौं, जेठ ९
कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल ट्राफिक पुलिसलाई कोरोना संक्रमित घडीमा एक सय लिटर स्यानिटाइजर सहयोग स्वरूप प्रदान गरेको छ । कोरोना महामारीको संकटदायी घडीमा अत्यावश्यक तुल्यिएको स्यानिटाइजर रामशाहपथ स्थित महानगर पुलिस कार्यालयमा एक समारोहबीच बैंकले हस्तान्तरण गरेको छ ।
उक्त कार्यक्रममा कुमारी बैंकका तर्फबाट अनुषा शाक्यले काठमाडौँं महानगर पुलिसका वरिष्ट सुपर इन्टेंडेंट (एसएसपी) भीम प्रसाद ढकाललाई स्यानिटाइजर हस्तान्तरण गरेका हुुन् । कोरोना महामारी एवं विपदको समयमै न्यूनीकरण एवं नियन्त्रणका लागि नेपाल सरकारको राहत कोषमा योगदान, स्थानीयस्तरमा निम्नस्तरका महामारी प्रभावित बासिन्दालाई राहत–वितरण जस्ता गतिविधिहरू आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले वहन गर्दै आएको छ ।
लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरूलाई आफ्ना देशव्यापी शाखा र एटीएममार्फत निरन्तर बैंकिङ सुविधा प्रदान गरिरहेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब एक करोड २७ लाख १३ हजार सात सय ४८ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ३२ लाख ८९ हजार एक सय ४८ रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी नौ अर्ब ५५ करोड ४१ लाख ३० हजार चार सय ४० रूपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ८५ अर्ब ५० करोड ६७ लाख नौ हजार नौ सय ९७ रूपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब ७० करोड ५० लाख १४ हजार पाँच सय ७० रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब ७५ करोड २६ लाख ८४ हजार चार सय २६ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ७३ अर्ब २० करोड ११ लाख ४३ हजार सात सय ६६ रूपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब एक करोड ७९ लाख १३ हजार ५२ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब २३ करोड ३० लाख ६४ हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।