काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले उद्योगमा विद्युत् आपूर्ति सुरु गर्न नेपाल विद्युत् प्राधिकरणसँग आग्रह गरेको छ । प्राधिकरणले डेडिकेटेड फिडर र ट्रङ्क लाइनबाट लिएको बिजुलीको महसुल भुक्तानी नगर्ने केही ठूला उद्योगहरूमा विद्युत् आपूर्ति रोकिदिएको छ । संघले एक विज्ञप्ति जारी गरी विद्युत् आपूर्ति रोकिएका उद्योगमा पुन सुरु गर्न आग्रह गरेको हो । सम्बन्धित उद्यमीले देशमा लोडसेडिङ अन्त्य भइसकेपछि डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिन प्राधिकरणमा आवेदन नै नदिएको अवस्थामा प्राधिकरणले ६७ प्रतिशतसम्म महसुल थप गरी बिल पठाएको र बिजुली उपभोग गरेको प्रमाण दिन नसकेको तर्क गरिरहेका बेला प्राधिकरणबाट उक्त गुनासो सम्बोधन नै नगरी लाइन काट्ने कदम चालिनु अत्यन्तै दुःखद् रहेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसबाट मन्दीको चपेटामा परेको अर्थतन्त्र र कठिन परिस्थितिको सामना गरिरहेको उद्योग, व्यवसायमा गम्भीर धक्का लाग्ने र उद्यमी व्यवसायीको मनोबल अझै खस्किने संघको भनाइ छ । संघका अनुसार यसअघि ट्रंक लाइन र डेडिकेटेड फिडरको महसुलको निहुँमा विद्युत् आपूर्ति नरोक्न प्रधानमन्त्रीले दिएको निर्देशनले समेत यो विवादलाई दुवै पक्षले जित्ने गरी समाधान गर्नुपर्ने सन्देश प्रवाह गरेको थियो ।
यसैबीच प्रधानमन्त्रीबाट लाइन काट्ने निर्देशन हुनु र प्राधिकरणले एक्कासी लाइन काट्दा सिंगो निजी क्षेत्र त्रसित बनेको संघले जनाएको छ । उद्योग, व्यवसायका लागि उपयुक्त वातावरण दिएर मुलुकलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउने सन्दर्भमा अभिभावकीय भूमिका खेल्नुपर्ने सरकार र सरकारी निकायबाटै व्यवसायीलाई तर्साउने खालको कदम चालिँदा देशको सर्वाङ्गीण विकासका लागि अतिआवश्यक स्वदेशी र विदेशी लगानी प्रभावित हुने संघका महासचिव अनिल कुमार अग्रवालले बताए ।
दुवै पक्षले जित्ने गरी यो विवादलाई यथाशीघ्र सम्बोधन गर्न, विद्युत् आपूर्ति काटिएका उद्योगमा तत्काल आपूर्ति सुरु गर्न तथा यही निहुँमा थप उद्योगमा आपूर्ति नरोक्न संघले आग्रह गरेको छ । निजी क्षेत्रमाथि गरिने ज्यादतिले तत्काल राज्यले केही राजस्व प्राप्त गरे पनि दीर्घकालमा यसको असर निकै भयावह हुन सक्नेतर्फ पनि संघले सरकारको ध्यानाकर्षण गराएको छ ।