काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले व्यापक स्तन हेरचाह केन्द्र सञ्चालनमा ल्याएको छ । महिलाहरुमा बढ्दै गएको स्तन क्यान्सर र उपचारको अभावका कारण मृत्यु व्यहोर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै अस्पतालले आइतबारदेखि सो सेन्टर सञ्चालनमा ल्याएको हो ।
यस सेन्टरअन्तर्गत महिलाहरुले सबै किसिमका उपचार, निदान, स्तन रिकन्सट्रक्सन तथा जनचेतनाका लागि तालिमको सेवा एकै छतमुनिबाट प्राप्त गर्न सक्नेछन् । यस विभागबाट विभिन्न परीक्षण, शल्यक्रिया तथा शल्यक्रियापछि नक्कली स्तन राख्ने वा रिकन्स्ट्रक्सनको सुविधा पनि प्रदान गरिन्छ । सेन्टरको उद्घाटन अभिनेत्री मनिषा कोइराला, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणा र महिला उद्यमी महासंघ नेपालका निवर्तमान अध्ययक्ष निरु रायमाझीले संयुक्तरुपमा गरेका थिए । अस्पतालका अध्यक्ष उपेन्द्र महतोले नेपालीहरुलाई स्वदेशमै सम्पूर्ण सेवा प्राप्त होस् भन्ने उद्देश्यले विशेषज्ञ केन्द्रहरु एकपछि अर्को सञ्चालन गरेको बताए ।
सेन्टरका प्रमुख तथा प्रिन्सिपल कन्सलटेन्ट डा. ज्योति रायमाझीले स्तन क्यान्सर आफैँले छामेर पत्ता लाग्नसक्ने रोग भए पनि कति महिलाहरुलाई कसरी जाँच्ने भन्ने विषयमा थाहै नभएको बताइन् । स्तन क्यान्सर पुरुषमा पनि देखिने उनको भनाइ छ । अध्ययनहरुका अनुसार एक लाख महिलामा ११८ जनामा स्तन क्यान्सर देखिन्छ भने एक लाख पुरुषहरुमा एक जनामा स्तन क्यान्सर देखिने गरेको छ । रेडियोलोजिस्ट तथा ब्रिस्ट इमेजिङमा फेलोसिप गरेकी डा. कुन्दना रायमाझीका अनुसार सबै स्तनको क्यान्सर छामेर मात्रै पत्ता लगाउन सकिँदैन । यसको लागि म्यामोग्राम परीक्षण गराउनुपर्दछ ।
प्रारम्भिक चरणमै स्तन क्यान्सर छ वा छैन भन्ने पत्ता लगाउन म्यामोग्राम परीक्षण गरिन्छ । ‘मटरको दानाभन्दा सानो क्यान्सरको गिर्खा हुँदा हातले भेट्न सकिन्न तर म्यामोग्राम परीक्षण गर्दा पत्ता लाग्छ । त्यस्तै, क्यान्सर कुन स्टेजमा पुगेको छ भन्ने थाहा पाउन गिर्खाको आकारमा भर पर्छ’, डा कुन्दनाले भनिन् । सामान्यतया, म्यामोग्रामको परीक्षण ४० वर्ष नाघेपछि गरिन्छ भने ४० वर्ष भन्दा कम उमेरसमूहका महिलाहरुलाई स्तनको अल्ट्रासाउन्ड परीक्षण मात्र गराइन्छ । तर, जो महिलाको आमा अथवा परिवारमा कुनै व्यक्तिहरुलाई स्तन क्यान्सर भएको इतिहास छ भने स्तन क्यान्सर हुने जोखिम धेरै हुन्छ । त्यसैले ती महिलाले ३० देखि ३५ वर्षको उमेरमै म्यामोग्राम गराउन आवश्यक रहेको डा. कुन्दना बताउँछिन् ।