काठमाडौं । बैंकिङ क्षेत्रमा अहिले ६० खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप छ । यसमध्ये बैंक तथा वित्तीय संस्थाले ५० खर्ब पाँच अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकहरुले कुल निक्षेपको ९० प्रतिशत अर्थात् ५४ खर्ब ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गर्न पाउँछन् । आर्थिक मन्दीले गर्दा कर्जाको माग न्यून छ । बैंकहरुसँग चार खर्ब २५ अर्ब रुपैयाँ अधिक तरलता छ ।
वित्तीय प्रणालीमा अधिक तरलता हुनु अर्थतन्त्रका लागि राम्रो होइन । यस्तो बेला राष्ट्र बैंकले विभिन्न उपकरणमार्फत निक्षेप खिचेर व्यवस्थापन गर्ने गर्दछ । सोहीअनुसार बुधबार पनि केन्द्रीय बैंकले ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो । यो पैसा निक्षेप संकलन उपकरण बिक्री गरी १४ दिनका लागि तान्नेछ ।
अहिले वाणिज्य बैंकहरुमा मात्र रहेको कुल निक्षेप ५३ खर्ब ४२ अर्ब रुपैयाँ छ भने विकास बैंक र फाइनान्स कम्पनीहरुको निक्षेप छ खर्ब ९२ अर्ब रुपैयाँ छ । वाणिज्य बैंकहरुको मात्रै ४४ खर्ब २९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । विकास बैंक र फाइनान्स कम्पनीहरुले पाँच खर्ब ७६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
अहिले बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात ८० दशमलव १८ प्रतिशत छ । अर्थतन्त्र चलायमान बन्न नसक्दा कर्जाको नयाँ माग भएको छैन । निक्षेप बढ्दै जाने तर कर्जा प्रवाह नहुने स्थितिले बैंकिङ प्रणालीमा अधिक तरलता देखिएको हो ।
राष्ट्र बैंकले आज बुधबार अपराह्न दुई बजेसम्म १४ दिनका लागि बोलकबोलको माध्यमद्वारा ३५ अर्ब रुपैयाँको मौद्रिक उपकरण बिक्री गर्न लागेको हो । पुस ११ गते संकलन हुने निक्षेप पुस २५ गते परिपक्व हुनेछ । यो उपकरण वाणिज्य बैंक, विकास बैंक र फाइनानस कम्पनीले खरिद गर्न पाउनेछन् ।
खरिदकर्ताहरुले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जानेगरी कुुल आह्वान रकमसम्म निक्षेप उपकरण खरिद गर्न सक्नेछन् । यो निक्षेप संकलन उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा पनि प्रयोग गर्न सकिनेछ ।
बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप संकलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरीकन निक्षेप संकलन दरमा निक्षेप संकलन गर्न सकिने व्यवस्था पनि छ ।