काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट दुरुपयोगको बेथिति अन्त्य हुने बताएका छन् । १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको मंगलबार उद्घाटन गर्दै उनले तीन करोड रुपैयाँभन्दा बढीको आयोजना मात्रै संघीय सरकारले अगाडि बढाउने बताए ।
यस्तै, उनले एक करोडभन्दामाथिको आयोजना प्रदेशले र एक करोड रुपैयाँसम्मको आयोजना स्थानीय सरकारले गर्ने कार्यविधि आइसकेको जानकारी दिए । यसैगरी उनले अर्को वर्षबाट बहुवर्षे आयोजनामा बजेट नराख्ने र ठेकदारले दाबी गर्ने परम्पराको अन्त्य हुने पनि बताए । ‘जति बजेट आवश्यक हो, त्यो मन्त्रालयले माग गर्ने व्यवस्था हुँदैछ’, उनले भने । यस्तै, उनले अर्थतन्त्रको आवश्यकताअनुसारको समयसापेक्ष मौद्रिक नीति तयार भएको बताए । ‘अहिलेको मौद्रिक नीतिले कर्जामा लगानी बढाउँछ, ब्याजदर घटाउँछ, लगानी वृद्धि गर्छ, उपभोक्ताले उपभोग गर्न गाह्रो मान्नुपर्दैन’, उनले भने ।
अहिले आर्थिक सूचकहरू विस्तारै सकरात्मक हुँदै गएको उनले दाबी गरे । ‘अहिलेसम्मकै बढी विदेशी पर्यटक आगमन भएको छ । आन्तरिक पर्यटक पनि बढेको छ’, उनले भने, ‘सेयर बजार उकालो लागेको छ, जग्गा कारोबारमा आएको शिथिलता पनि घट्दैछ ।’ यस्तै, विदेशबाट आएको विप्रेषण पनि बढिरहेको उनले बताए । ब्याजदर कम हुँदै गएको र ऋणीलाई पनि ऋण तिर्न चैतसम्म भाका दिइएकाले उनीहरूलाई पनि राहत पुगेको उनको दाबी छ । ‘बैंकबाट कर्जा पनि विस्तारै बढिरहेको छ । मूल्यवृद्धि साढे पाँच प्रतिशतमा झरेको छ । यसले बिजनेस व्यापारको लागत कम गर्नेछ’, उनले भने ।
कार्यक्रममा उनले निजी क्षेत्र, उद्यमी र राजनीतिक दलबाट अब सकारात्मक डिकोर्सको आवश्यकता भएको बताए । ‘यो देशमा बसेर केही हुँदैन, यसको भविष्य छैन, यहाँ बस्नुको औचित्य छैन भन्ने नकारात्मक भाष्य त्यागेर सकारात्मकतर्फ लाग्नुपर्छ’, उनले भने, ‘तथ्याङ्कले अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको छ, यो अवसरलाई उपयोग गर्नुपर्छ भन्ने भाष्य अगाडि बढाउन जरुरी छ ।’ नेपालको जलविद्युत्, कृषि व्यापार, पर्यटन र सूचना प्रविधिले नेपालको अर्थतन्त्रलाई अर्को तहमा पुर्याउनले उनले बताए । युवाहरूले यसैमा अवसरहरू खोज्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा मन्त्री डा महतले चितवन गतिशील जिल्ला भएका बताए । संसारभरिका पर्यटकका लागि यहाँका वन्यजुन्त, थारुहरूको संस्कृति र परम्परा आकर्षण बनेको उल्लेख गरे । यस्तै, उनले ०४६ सालपछि चितवनले विकासको फड्को मारेको बताए । पूर्व–पश्चिम राजमार्ग छ लेन र हेटौँडासम्मको फास्ट ट्रयाक बनिसकेपछि चितवनमा उलेख्य रुपमा पर्यटन वृद्धि उनको भनाइ थियो ।