पोखरा । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार आज(बुधबार) दिउँसो करिब १ बजे उनलाई कुश्मा नगरपालिकाको कार्यालयबाटै पक्राउ गरिएको हो ।
पक्राउ परेका पराजुलीलाई पोखरा पठाउन लागिएको इन्स्पेक्टर अधिकारीले बताए । सहकारी रजिष्ट्रारको कार्यालय पोखराका पूर्व रजिष्ट्रारसमेत रहेका पराजुलीले पोखरास्थित मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न भन्दै सहकारीको एक करोड पाँच लाख रुपैयाँ घुस लिएको आरोप छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालतबाट पक्राउका लागि अनुमति लिएको थियो । पराजुली सहसचिवको परीक्षा दिन जाने भन्दै पुस ३ गतेदेखि कार्यालयबाट बिदा लिएका थिए । त्यसपछि सम्पर्कविहीन भएका थिए । कार्यालयका अनुसार उनले पुस ८ गतेसम्मका लागि बिदा लिएका थिए । उनले कार्यालयका कर्मचारी समक्ष पुस १० गते कार्यालय आइपुग्छु भनेका थिए । १० गते बिदाको दिन परेकाले उनी आज कार्यालय पुगेका थिए ।