काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलताको चाप परेपछि राष्ट्र बैंकले फेरि निक्षेप तान्न लागेको छ । बुधबार बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तानेको केन्द्रीय बैंकले आज (बिहीबार) फेरि २० अर्ब रुपैयाँ तान्ने भएको छ ।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बिक्री गरी सो रकम तान्न लागेको हो । त्यसका लागि बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो दुई बजेसम्म बोलकबोल आह्वान गरेको छ । राष्ट्र बैंकले बुधबारसम्म १४ पटक निक्षेप संकलन उपकरण बिक्री गरी वित्तीय प्रणालीबाट दुई खर्ब ३२ अर्ब ३५ करोड रुपैयाँ तानिसकेको छ ।
बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप संकलन बोलकबोल पनि एउटा हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरीकन निक्षेप संकलन दरमा निक्षेप संकलन गर्न सकिने व्यवस्था पनि छ । बिहीबार नै निष्काशन हुने निक्षेप उपकरणको साँवाब्याज भुक्तानी पुस १९ गते हुनेछ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले निक्षेप उपकरण खरिदका लागि बोलबोल पेस गर्न सक्नेछन् ।
खरिदकर्ताले घटीमा १० करोड र बढीमा पाँच करोड रूपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्ने व्यवस्था गरिएको थियो ।