काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा उनी दोषी ठहर भएका हुन् ।
साहित्यकारसमेत रहेका पूर्वडीआईजी शाहसहित चार जनालाई बुधबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रितेन्द्र थापासहितको इजलासले भ्रष्टाचारी ठहर गरेको हो । उनीहरूलाई कति सजाय गर्ने भन्ने विषयमा भने अदालतले पछि निर्धारण गर्नेछ ।
प्रहरी तालिम केन्द्र दुधौलीमा रहेको बेला उनले नक्कली नाम बनाएर प्रहरी कर्मचारीको तलब, रासन बुझेर राज्यकोषको दुरुपयोग गरेको आरोप लागेको थियो । उनीविरुद्ध २०७६ साल फागुन २० गते अख्तियारले विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
शाहसहित उक्त प्रकरणमा लेखापाल एवं पूर्वप्रहरी नायब निरीक्षक दिपेन्द्रप्रसाद पनेरुलाई पनि दोषी ठहर गरेको छ । अख्तियारले उनीहरूविरुद्ध ३३ लाख ३८ हजार ८४ रुपैयाँ ८८ पैसा बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त प्रकरणमा संलग्न भनेर अख्तियारले मुद्दा दायर गरेका प्रहरी हवल्दार केशवसिंह ऐरी र लेखापाल सञ्जीव बिशुंखेलाई भने विशेष अदालतले सफाइ दिएको छ । प्रहरीले गरेको छानबिनमा पनि उनीहरूले भ्रष्टाचार गरेको देखिएको थियो । त्यसपछि सो विषयलाई अख्तियार लगाएर छानबिन गराइएको थियो ।