काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरूमध्ये सबैभन्दा ठूलो र व्यवस्थापनका दृष्टिकोणले पनि राम्रो मानिँदै आएको मुक्तिनाथ विकास बैंकमा बेथिति देखिएको छ । सेयरमूल्य प्रभावित पार्न बैंक सञ्चालक समिति र व्यवस्थापन समितिको मिलेमतोमा हतार–हतार बोर्ड बैठक राखी आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरी सेयर कारोबार खुला भइरहेको समयमै सार्वजनिक गरेपछि बैंकमा भएको बेथिति छताछुल्ल भएको हो ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ अनुसार सेयर कारोबार खुला रहेको समयमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएका कुनै पनि कम्पनीले लाभांश वितरणसम्बन्धी सूचना सार्वजनिक गनै पाइँदैन । यसरी सूचना सार्वजनिक हुँदा सूचीकृत कम्पनीको सेयरमूल्यमा असर पार्ने र यसबाट केही निश्चित व्यक्तिले अनुचित लाभ लिनसक्ने देखिन्छ । सोही कारण पनि नेप्सेले यस्तो कार्यलाई निरुत्साहित गर्न, सेयरबजारमा देखिएको ‘इन्साइडर ट्रेडिङ’लगायतका अनुचित कार्यलाई हटाउन यस्तो कार्यमा संलग्न संस्था तथा लगानीकर्तालाई कारबाही गर्दै आएको छ । यस्तै किसिमको कैफियत मुक्तिनाथ विकास बैंकमा देखिएपछि नेप्सेले बैंकको सेयर कारोबार तत्कालको लागि स्थगन गरी व्यवस्थापन प्रमुखलाई तीन कार्यदिनभित्रमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
नेप्सेले मुक्तिनाथ विकास बैंकको लाभांश घोषणामा बदनियत देखिएको भन्दै बैंकको सेयर कारोबार तत्कालको लागि स्थगन गरेको हो । नेप्सेले यही पुस छ गते बिहीबार मुक्तिनाथ विकास बैंकलाई कारबाहीस्वरुप लेखेको पत्रमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा त्यहाँको मिति २०८०/०९/०५ गते बिहीबार दिनको २ः३० बजे कारोबारको समयमा सञ्चालक समितिको बैठक बसी आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणासम्बन्धी निर्णय गरेको हुँदा धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) मा भएको व्यवस्थाबमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेस गर्नुपर्नेछ ।’ बैंकले उक्त विनियममा भएको व्यवस्था पालना नगरेकाले उक्त विनियमावलीको विनियम १६(१) (ख) मा भएको व्यवस्थाअनुसार धितोपत्र कारोबार स्थगन गरेको हो । नेप्सेले पत्र प्राप्त भएको मीतिले तीन कार्यदिनभित्र के–कति कारणबाट कारोबार समयमा सञ्चालक समितिको बैठक बसी लाभांश घोषणासम्बन्धी निर्णय गरेको हो सोबारे स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
नेप्सेले मुक्तिनाथ विकास बैंकलाई गरेको कारबाहीको बोधार्थ नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, सीडीएस एन्ड क्लियरिङ लिमिटेड, नेप्सेको प्रमुख कार्यकारी अधिकृत, नेप्सेको प्रणाली सञ्चालक शाखा र नेप्सेको सुपरीवेक्षण शाखालाई उल्लेख गरेको छ । बैंकले गत बिहीबार बोनस र नगद समेत गरी १० दशमलव २७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । बैैंकले आर्थिक वर्ष २०७९/८० मा कायम चुक्ता पुँजी छ अर्ब ४२ करोड नौ लाख दुई हजार ७२ रुपैयाँमध्येबाट नौ दशमलव ७५ प्रतिशत (६२ करोड ६० लाख ३७ हजार सात सय ७६ रुपैयाँ) बराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । यस्तै बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि शून्य दशमलव ५२ प्रतिशतका दरले हुनआउने तीन करोड २९ लाख ४९ हजार तीन सय ५६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश पारित गर्न बैंकले पुस २८ वते वार्षिक साधारणसभा डाकेको छ । साधारणसभाबाट लाभांश पारित भएपछि सेयरधनीमा वितरण हुनेछ । तर, बैंकले नियमविपरीत लाभांश घोषणाको सूचना चूहावट गरेपछि नेप्सेले कारबाही सुरु गरेको छ ।