काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर सटहीको सीमा बढाएको छ । राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै विभिन्न कारणले विदेश जाने नेपाली नागरिकलाई डलर सटहीको सीमा बढाएको हो । विदेशी विनिमय सञ्चिति बढ्दै गएकाले केन्द्रीय बैंक डलर सटहीमा लचिलो बन्दै गएको हो ।
वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानीबापत सटही सुविधा उपलब्ध गराउँदा जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका, क्यानाडाको हकमा अधिकतम अमेरिकी डलर पाँच सय र अन्य मुलुक जानेको हकमा अधिकतम अमेरिकी डलर दुई सयसमको सटही सुविधा उपलब्ध गराउनुपर्नेछ । यसअघि सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम अमेरिकी डलर दुई सयसम्म मात्र सटही सुविधा दिएको थियो ।
राष्ट्र बैंकले सुन बिक्रेता वाणिज्य बैंकमा सुन खरिद गर्ने व्यवसायीको बैंक खाता नभए पनि अन्य बैंक तथा वित्तीय संस्थामा भएको खाताबाट भुक्तानी हुने भएमा सम्बन्धित वाणिज्य बैंकले सुन बिक्रीको व्यवस्था मिलाउनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन पनि निर्देशन दिएको छ ।
उच्चशिक्षा अध्ययन गर्न विदेश जाने तथा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई आवश्यक पर्ने विदेशी मुद्राको सटही अनुमति प्रदान गर्ने व्यवस्थालाई पनि राष्ट्र बैंकले सहज बनाएको छ । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंक, बैंकिङ विभागलगायत सम्पूर्ण प्रदेशस्थित कार्यालयहरू तथा इजाजतपत्रप्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरू तथा ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बंैकलाई निर्देशन दिइएको राष्ट्र बैंकको भनाइ छ । यो व्यवस्थाअनुसार यस्तो सटही सुविधा अधिकतम अमेरिकी डलर एक हजार पाँच सय वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्म प्रदान गर्न दिने भएको छ ।
भिसा आवेदनको हकमा सम्बन्धित दूतावासलगायत भिसा आवेदन शुल्क संकलन गर्न अधिकारप्राप्त निकायले परिवत्र्य विदेशी मुद्रामा नै भिसाशुल्क लिने व्यवस्था गरेमा (विद्युतीय माध्यम समेत) तोकिएको भिसाशुल्कसम्मको सटही सुविधा प्रदान गर्दा उल्लिखित अधिकतम अमेरिकी डलर एक हजार पाँच सयको सीमाले बाधा पु¥याएको नमानिने राष्ट्र बैंकले परिपत्रमा उल्लेख गरेको छ ।