काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता दिपकराज जोशीसहित दुई जनाले गभर्नर हुनको लागि अधिकारीको योग्यता नपुगेको दाबीसहित रिट निवेदन दर्ता गरेका हुन् ।
सरकारले अधिकारीलाई विसं २०७६ साल चैत २४ गते गभर्नरमा नियुक्त गरेको थियो । कानुनअनुसार गभर्नर हुन अधिकारीको योग्यता नपुग्ने भन्दै रिट निवेदनमा कानुन व्यवसायीहरूले उनलाई पदमुक्त गर्न माग गरेका छन् । नेपाल राष्ट्र बैंक ऐनको दफा २० मा गभर्नरको योग्यतासम्बन्धी व्यवस्था छ । उक्त दफामा गभर्नर हुनुको लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुनमा स्नातकोत्तर भई त्यही क्षेत्रमा अनुभव हासिल गरेको हुनुपर्ने व्यवस्था छ ।
भारतमा चार्टर्ड एकाउन्टेन्ड पढेर आएका अधिकारीले अरु कुनै पनि विषयमा स्नातकोत्तर नगरेको रिट निवेदनमा जिकिर छ । गभर्नर अधिकारीविरुद्ध परेको निवेदनमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ हुनेछ ।