काठमाडौं । वैदेशिक रोजगारीका लागि अजरबैजान पठाइदिन्छु भन्दै ६ लाख ७७ हजार रूपैयाँ ठगी गरेको अभियोगमा खोटाङका एक व्यक्ति पक्राउ परेका छन् । दिक्तेल रूपाकोट मझुवागडी नगरपालिका घर भई हाल काठमाडौं बुढानिलकण्ठ बस्ने ५१ वर्षीय हरी कुमार दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
दाहालले एक जनालाई वैदेशिक रोजगारीका लागि अजरबैजान पठाई होटलमा मासिक ७५ हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम लिई सम्पर्कविहीन भएका थिए ।
उनलाई ठगी अभियोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।