स्याड.जा, जेठ ११
पोखराको मालेपाटनमा रहेको सिद्धार्थ बेकरी उद्योगले गुणस्तरहीन पाउरोटी बेच्दै आएको खुल्न आएको छ । उद्योगले बजारमा पठाएको हेप्पी पीस पाउरोटीमा अखाद्य वस्तु (मुसाको लेडजस्तो देखीने) फेला परेपछि गुणस्तरहीन पाउरोटी बजारमा बेच्ने गरेपछि खुल्न आएको हो । पुतलीबजारमा रहेको एक सपिङ सेन्टरबाट खाजाको रूपमा खान घरमा लैजाँदा मुसाको लेडजस्तो देखिने अखाद्य वस्तु भेटिएको सुमन अर्यालले बताए ।
सिद्धार्थ बेकरीले बजारमा गुणस्तरहीन पाउरोटी बेचिरहेकोले कानुनअनुसार कारबाही गर्न अर्यालले माग गरे । ५ जना सञ्चालक रहेको सिद्धार्थ बेकरी उद्योगमा करिब २० जना कर्मचारीहरू रहेका छन् । बेकरी ४ वर्ष पहिलेदेखि सञ्चालनमा आएको हो । उद्योगले हाल दैनिक ३०÷४० हजार प्याक पाउरोटी उत्पादन गर्दै आएको छ । अनुगमन गरेर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरु ढकालले जानकारी दिए ।
सप्रजिअ ढकालले अखाद्य वस्तु उत्पादन तथा ओसारपोर केशमा कारबाही हुन सक्ने बताए । उद्योगले पोखरा, तनहुको दमौली र स्याङ्जाको बयरघारीसम्म पाउरोटी बेच्दै आएको छ । सिद्धार्थ बेकरी उद्योगले कारोनाको लकडाउनका कारण हप्तामा दुई दिन मात्रै आफ्ना उत्पादन बजारीकरण गर्दै आएको छ । बजारमा रहेका पाउरोटीमा कुनै समस्या नभएको सिद्धार्थ बेकरी उद्योगका एक सञ्चालक सुरज पौडेलले जानकारी दिए । पाउरोटीमा कसरी अखाद्य वस्तु भेटीय आफैँ अचम्म परेको पौडेलले बताए ।