हेटौँडा । सङ्घीयतालाई दिगो र सबल तुल्याउन सङ्घीय सरकारले प्रत्येक प्रदेश सरकारलाई यथाशीघ्र अधिकार प्रत्यायोजित गर्नुपर्ने मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बताएका छन् । शुक्रबार मकवानपुरको हेटौँडामा आयोजित कार्यक्रममा उनले प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट न्यायोचित ढङ्गबाट गरिनुपर्ने आग्रह गरे ।
आजै हेटौँडामा आयोजना गरिएको सातै प्रदेशका मुख्यमन्त्रीको बैठकले सङ्घीय सरकारलाई विभिन्न बुँदाको सुझावसहित प्रतिवेदन बुझाइने मुख्यमन्त्री यादवले बताए । उनले जनतालाई सङ्घीयता र गणतन्त्रप्रति जागरुक बनाउन तीनै तहका सरकार इमान्दारीपूर्वक लाग्नुपर्नेमा जोड दिए ।