महेन्द्र शाही
सोलुखुम्बु, जेठ ११
गैरसरकारी संस्था रिड नेपाल सोलुखुम्बुले विद्यार्थीहरूलाई घरमा नै पुगेर छात्रावृत्ति वितरण गरेको छ । लकडाउनका कारण विद्यालय बन्द भएपछि घरमै पुगेर छात्रावृत्ति प्रदान गरेको रिड नेपाल सोलुखुम्बुका शिक्षा विकास संयोजक केशव गिरीले जानकारी दिए । जिल्लाको विभिन्न गाउँपालिकाभित्रका एक सय ८१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । जिल्लाको माप्यदूधकोशी गाउँपालिका ५७ जना, सोलुदूधकुण्ड नगरपालिकाका ३४ जना, सोताङ गाउँपालिकामा ४७ जना, महाकुलुङ गाउँपालिकामा ४३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको रिड नेपालका शिक्षा विकास संयोजक केशब गिरीले जानकारी दिए । अष्ट्रेलियन हिमालयन फाउन्डेसनको सहयोगमा रिड नेपालले विगत सात वर्षदेखि नियमितरूपमा सोलुखुम्बुका पाँच सय विपन्न परिवारका कक्षा १ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई स्टेसनरी, ड्रेस र पढाइ खर्चका लागि वार्षिक छ हजार छात्रवृत्ति रकम प्रदान गर्दै आएको छ ।
यस पटक पनि यसैको निरन्तरता दिइएको हो । यो छात्रवृतिले विपन्न परिवारका बालबालिकालाई अध्ययनमा सहयोग पुगिरहेको अभिभाबकहरूको भनाइ छ । त्यस्तै, रिड नेपालले पाँच जना छात्राहरूलाई कक्षा ९ देखि १२ सम्मको प्राविधिक कृषि बालीविज्ञान शिक्षाको लागि गार्मा माविमा अध्ययनको लागि वार्षिक जनही ५० हजार उपलब्ध गराउदै आएको छ । त्यस्तै एक जना छात्रालाई इन्जिनियर र एक जना छात्रालाई नर्सिङ कोर्षसमेत गराइ रहेको संयोजक गिरीले बताए । समय अनुकुल हेरेर अन्य स्थानीय तहमा पनि छात्रवृत्ति वितरण गर्ने रिड नेपालको योजना रहेको र यसको लागि स्थानीय तहसँग समन्वय भइरहेको उनको भनाइ छ । भन्दै छिटै बाँकी बालबालिकाहरूको पनि घरमा नै पुगेर छात्रवृत्ति वितरण गरिने शिक्षा संयोजक गिरीले जानकारी दिए ।