काठमाडौं । आज चौथो राष्ट्रिय च्याउ दिवस मनाइँदैछ । २०७७ सालदेखि हरेक वर्ष पुस १५ गते विभिन्न कार्यक्रम गरी च्याउ दिवस मनाउन थालिएको हो ।
त्यस्तै, ललितपुरको जावलाखेलस्थित खेलमैदानमा एक दिने ‘च्याउ मेला तथा परिकार महोत्सव’ हुने भएको छ । च्याउ उत्पादक किसान संघ नेपालले एक दिन आज(आइतबार) च्याउ प्रवद्र्धनको कार्यक्रम आयोजना गर्न लागेको हो ।
मेलामा कन्य, गोभ्रे, किङ वयस्टर, सिताकेलगायतका च्याउका विभिन्न जात तथा परिकारहरू प्रदर्शनीमा राखिनेछ । आयोजकका अनुसार ‘च्याउ किसानहरूको जागरुकता, व्यावसायिक उत्पादनद्वारा आत्मनिर्भरता’ भन्ने नाराकासाथ आयोजना गरिने मेलामा च्याउसँग सम्बन्धित ३० ओटा स्टल रहने छन् ।
संघका अध्यक्ष कार्कीले विभिन्न स्टलहरूमा भिन्नभिन्न प्रकारका च्याउ उत्पादनका लागि आवश्यक वस्तुहरूको समेत प्रदर्शनी गरिने बताएका छन् । कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म चल्ने सङ्घका अध्यक्ष सन्तोष कार्कीले बताए ।