काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनको क्रममा ज्यान गुमाएका दुई युवकको परिवारलाई सरकारले १०÷१० लाख रुपैयाँ राहत दिने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आकास्मिक मन्त्रिपरिषद्को बैठकले प्रदर्शनको क्रममा मृत्यु भएका दैलेख महाबुका सुजन रावत र अछाम चौरपाटीका वीरेन्द्र शाहीको परिवारलाई सरकारले राहतस्वरूप १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।
त्यस्तै, मन्त्री शर्माका अनुसार बैठकले घाइते भएकाहरूको सम्पूर्ण उपचार सरकारले गर्ने निर्णय गरेको छ । उपचारमा लाग्ने सम्पूर्ण खर्च गृह मन्त्रालय र अर्थ मन्त्रालयले निकासा गर्नेछ । घटनामा दर्जनभन्दा बढी घाइते भएका थिए ।
त्यस्तै सरकारले बालकुमारी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने बताएको छ । प्रवक्ता शर्माका अनुसार गृह मन्त्रालयले बनाएको समितले निष्पक्ष छानबिन गर्ने र दोषीलाई कारबाही गरिने बताइन् । उनले यसखालका घटना हुन नदिन सम्बन्धित निकायलाई संयमता अपनाउन निर्देशन गरिएको बताइन् । त्यस्तै मृतक परिवारप्रति सरकारले समवेदनासमेत प्रकट गरेको छ ।
शुक्रबार पानीजहाज निर्माण क्षेत्रमा जानको लागि भाषा परीक्षा दिई फेल भएर बसेका युवाहरूले पुनः परीक्षा दिन पाउनुपर्ने माग गर्दै बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरीसँगको धरपकडमा दुई जना युवाको मृत्यु भएको थियो । मृतकद्वोय २३ वर्षीय रावत दैलेख महाबु गाउँपालिका वडा नम्बर ६ घर भई हाल भक्तपुर बस्दै आएका थिए भने २१ वर्षीय शाह अछाम चौरपाटी गाउँपालिका वडा नम्बर १ घर भई हाल काठमाडौं बस्दै आएका थिए । दुवै जना कोरिया जानका लागि भाषा अध्ययनरत विद्यार्थी थिए ।
छानबिनका लागि सीडीओ र प्रहरीप्रमुख तानिए
सरकारले ललितपुरको बालकुमारी घटनामा लापरबाही भएको बताएको छ । बालकुमारीमा भौतिक तथा मानवीय क्षति हुनेगरी भएको घटनामा लापरबाही गर्नेहरूलाई कारबाहीको दायरमा ल्याउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । प्रधानमन्त्री दाहाले शनिबार एक कार्यक्रममा अन्य विकल्पहरूको प्रयोग नगरी गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको जानकारी दिए ।
यता गृह मन्त्रालयले भने बालकुमारीमा भएको उक्त घटनाको छानबिन गर्न समिति निर्माण गरेको जनाएको छ । उक्त घटनाको सन्दर्भमा छानबिन समितिले ललितपुर प्रमुख जिल्ला अधिकारी, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक(डीएसपी), रोजगार अनुमति प्रणाली (इपिएस) शाखा कार्यालयका निर्देशक र भौतिक तथा यातायात मन्त्रीका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ)लाई फिर्ता तथा निलम्बन गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालयमा तान्ने र प्रहरी वरिष्ठ उपरिक्षक सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालयमा तान्ने निर्णय गरिएको छ ।
‘उक्त घटनाको सन्दर्भमा छानबिन समितिले काम गरिरहेको हुँदा छानबिन समितिको कामलाई वस्तुनिष्ट बनाउन घटनास्थलमा सुरक्षा कमाण्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साल र व्यक्तिगत सुरक्षा अधिकृत प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरिएको छ ।
ईपीएस शाखका कार्यालय निर्देशक गुरुदत्त सुवेदीलाई पनि निलम्बन गर्ने निर्णय सम्बन्धित मन्त्रालयबाट भएको छ’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै उक्त घटनाको छानबिन वस्तुनिष्ठ बनाउन ललितपुर प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालयमा र प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको छ ।’