काठमाडौं, जेठ ११
हाइलाइफ फुड प्रोडक्ट प्रालि रुपन्देहीले कोरोना भाइरसका कारण छिमेकी मुलुक भारतबाट फर्केर आई क्वारेन्टाइनमा बसेकाहरुको दैनिक खानपिनका लागि आफ्ना उत्पादनहरु वितरण गरेको छ । कम्पनीले आफ्नै उद्योगबाट उत्पादित चिउरा, सोयाबिन मस्यौरा, कर्नफ्लेक्स, ओट्सलगायतका खाद्य सामग्री सहयोग गर्दै आएको हो । यस क्रममा २०७७ जेठ ८ का दिन बुटवल, वडा नंं. ४ कान्ति माविको क्वारेन्टाइनमा रहेका १ सय १० जनाको लागि मिश्रित खाद्यान्न प्याकेज उक्त वडाका वडा अध्यक्ष टंक प्रसाद पराजुलीलाई हस्तान्तरण गरेको छ । यसबाट उक्त स्कुलमा रहेका व्यक्तिहरुले धेरै राहत अनुभव गर्ने विश्वास गरेकोे अध्यक्ष पराजुलीले बताए ।
त्यस्तै सोही दिन कम्पनीले तिलोत्तमा–२, स्थित दुर्गादत्त माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ४५ जना व्याक्तिहरुको लागि त्यस वडाका वडा अध्यक्ष दधिराम गौतमलाई खाद्य सामग्री हस्तान्तरण गरिएको छ । यसअघि पनि सियारी गाउँपालिका वडा नंं. १ का ३ सय विपन्न परिवारलाई एक सातालाई पुग्ने गरी उक्त वडाका वडा अध्यक्ष अरुण साहीमार्फत खाद्य सामग्री हस्तान्तरण गरिसकेको छ । कम्पनीले बेलाबखतमा यस्ता सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको कम्पनीका प्रबन्धनिर्देशक प्रशान्त घिमिरेले जानकारी दिए ।
उक्त कम्पनीले उत्पादन गर्ने सबै खाद्यान्नमा नेपालकै ९० प्रतिशत कच्चा पदार्थ प्रयोग गरी उच्च गुणस्तरको उत्पादन भएको र उत्पादित वस्तु नेपाल अधिराज्यको साथै विदेशमा पनि हङकङ, मकाउलगायतका देशहरुमा बिक्रीवितरण गर्दै आएको र हाल अष्ट्रेलिया र अमेरिकामा पनि निर्यात गर्ने प्रक्रियामा रहेको छ । यस विषम परिस्थितिमा पनि कम्पनीले खाद्यान्न अभाव नहोस् भन्ने हेतुले निकै समस्याका बाबजुद पनि विभिन्न सुरक्षाका मापदण्ड अपनाएर आफ्नो उत्पादनलाई निरन्तरता दिएको छ भने कम्पनीमा कार्यरत आफ्ना कर्मचारीहरुको सुरक्षाका लागि कम्पनी स्वयंले कोभिड–१९ बीमा व्यवस्था गरिदिएको छ ।