पोखरा । अंग्रेजी नयाँ वर्ष २०२४ को स्वागत गर्दै पोखरामा राति १२ बजे आतिशबाजी गरिने भएको छ । रेवान पोखराले गृह मन्त्रालयबाटै स्वीकृति लिएर आतिशबाजी गर्न लागिएको जनाएको छ ।
आशितबाजी २५औँ सडक महोत्सवस्थल पोखरा लेकसाइडको बसुन्धरा पार्कमा गरिने छ । आजराति ठीक १२ बजे एक मिनेटमात्र आतिशबाजी गर्ने अनुमति पाएका रेवानका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए ।
उनले भने, ‘राज्यको कानूनमा गर्न नपाइने भएपनि २५औं महोत्सव र अंग्रेजी नयाँ वर्ष विश्वभर उल्लासका साथ मनाइरहँदा पोखरामा आतिशवासी नगरिँदा पर्यटकलाई खल्लो हुने महसुस गरेर गृहमन्त्रालयसँग आग्रह गरेर नै गर्न लागिएको हो ।’
गृहले सुरक्षा सतर्कता अपनाउँदै एक मिनेटमात्र आतिशवाजी गर्न अनुमति दिएको उनले बताए । सरकारले आतिशबाजी र पटाकामाथि प्रतिबन्ध लगाएकोले आयोजक रेवानले यसअघि आतिशवाजी नगर्ने जनाएको थियो ।