विराटनगर, जेठ ११
कोरोनाको चपेटामा पूरै विश्वको अर्थतन्त्र डगमगाइरहेको अवस्थामा सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित उद्योगी व्यवसायीदेखि लिएर विराटनगरमा केन्द्रित साना तथा मझौला व्यवसायी अहिले आफ्नो अस्तित्वका लागि आन्दोलित बन्नपुगेका छन् । एकातिर विश्व नै आफ्नो अर्थतन्त्र जोगाउन आफ्नो देशका उद्योग व्यापारहरुलाई बचाउने रणनीति बनाउने क्रममा छ । तर नेपालमा भने त्यस्को ठीक विपरीत भइरहेको अवस्था छ ।
उद्योगी तथा व्यवसायीहरुको छाता संगठनका रुपमा आफूलाई दाबी गर्दै आएका मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले आफ्ना पदाधिकारीका मात्रै उद्योग जोगाउनेतर्फ ध्यान केन्द्रित गरेका कारण साना तथा मझौला उद्योगी तथा व्यवसायीहरुले छुट्टै समूह निर्माण गरेका छन् । साना तथा मझौला उद्योगी व्यवसायीहरुले छाता संगठनले व्यवसायीको हितमा काम गर्नुको सट्टा उल्टै आआफ्नो स्वार्थमा लागेको बताएका छन् । छाता संगठनका नेतृत्वकर्ताहरु साना तथा मझौला व्यवसायीलाई धराशायी बनाउन उद्यत रहेको उनीहरुको आरोप छ ।
लगातार दुई महिनादेखि आ–आफ्नो व्यवसाय एवं उद्योग बन्द गरी बसेका साना व्यापारीहरुलाई हेर्ने र तिनीहरुका आवाज सुन्ने कोही नभएको भन्दै उनीहरुले परिवर्तनका लागि आवाज भन्ने वेबसाइटमार्फत एउटा छुट्टै सन्जाल निर्माण गरेका छन् । उनीहरुले उक्त सञ्जालमार्फत साना तथा मझौला उद्योगहरुमा कोरोनाका कारण गरिएको लकडाउनले भएको क्षति संकलन गर्न थालेका छन् । व्यापार संघ र उद्योग संगठनमा आफ्नो उद्योग व्यवसाय सदस्य भए पनि संस्थाको चुनावताका मात्रै साना तथा मझौला उद्योगलाई सम्झिने गरेको उनीहरुको भनाइ छ । सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित उद्योगका व्यवसायीहरु अहिले दुई खेमामा विभाजित बनेका छन् । यिनै विवादका कारण उद्योगी व्यवसायीको हितका लागि भन्दै सञ्चालनमा रहेका उद्योग संगठन मोरङ र मोरङ व्यापार संघ जस्ता धेरै पुराना संस्था समेत अहिले आएर विवादित बन्नपुगेका छन् ।