काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले पुस २७ गते ११ औँ वार्षिक साधारणसभा बोलाएको हो । संस्थाले एक सूचना प्रकाशित गरी कम्पनी ऐन २०६३ को दफा ६७ (२) अनुसार वार्षिक साधारणसभा बोलाएको हो ।
वार्षिक साधारणसभामा आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेस गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त आव २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह वितरण र सोसँग सन्बन्धित अनुसूचीहरू पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षक नियुक्ति गर्ने एजेण्डा राखिएका छन् । यसैगरी विशेष प्रस्तावअन्तर्गत अन्य ‘घ’ वर्गका इजाजत प्राप्त वित्तीय संस्थाहरूलाई गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि उपयुक्त लघुवित्त संस्थाहरूको पहिचान गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिनेलगायतका कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्तावहरू रहेका छन् । सुनसरीको दुहवीमा मुख्य कार्यालय रहेको फरवार्ड माइक्रोफाइनान्सले ग्रामीण क्षेत्रमा रहेका महिलाहरूलाई सामूहिक जमानीमा कर्जा प्रवाह गरी उनीहरूको आर्थिक उत्थानमा योगदान पुर्याउँदै आइरहेको छ । संस्थाको देशभर ४० जिल्लाका शाखा, केन्द्र, उपकेन्द्रमा करिब तीन लाखको हाराहारीमा महिलाहरू आबद्ध रहेका छन् ।