काठमाडौं, जेठ ११
कर्मचारी सञ्चय कोषले कोरोना भाइरस (कोभिड १९) को कारण गत चैत्र ११ गतेदेखि नेपाल सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवाहरूमध्ये हाललाई विशेष सापटी सेवा २०७७ जेष्ठ ११ गतेदेखि अनलाइनमार्फत लिन सकिने गरी सञ्चालनको तयारी गरेको छ । लकडाउनको कारण यातायात र हिँडडुलमा भएको असहज अवस्थालाई मध्यनजर गर्दै घर तथा कार्यालयमै बसेर सरल, सहज र प्रभावकारीरूपमा सेवा उपलब्ध गराउने उद्देश्यअनुरूप अनलाइन विशेष सापटी सेवा सुरु गरिएको कोषले जनाएको छ ।
हाललाई यो सेवा विशेष सापटी लिन योग्यता पुगेका र योगदानकर्ताको पहिचान अपडेट गरेका सञ्चयकर्ताहरूले प्राप्त गर्न सक्नेछन् । यसको लागि सञ्चयकर्ताहरूले कोषको वेबसाइटमा गई प्राप्त निर्देशनअनुसार अनलाइन फारम भरी सोसँगै विशेष सापटीको आवेदन फारम भरी स्क्यान कपि अपलोड गरेर पठाउनुपर्ने हुन्छ । कोषले उक्त आवेदन फारमलाई रुजु गर्छ र सो गरी सकेपछी सम्बन्धित सञ्चयकर्ताको बैंक खातामा नै रकम जम्मा गरिदिनेछ । कोषले कोभिड १९ को कारण हाल बन्द रहेका अन्य सेवाहरू समेत क्रमशः सञ्चालनको तयारी समेत पूरा गरेको छ । लकडाउन खुकुलो हुनेवित्तिकै कोषका कार्यालयहरूमार्फत सुरक्षितरूपमा कोषका अन्य सेवाहरू प्रवाह हुनेगरी तयारी गरिसकिएको छ ।