काठमाडौं, जेठ ११
ज्योति विकास बैंकले हेल्थ फाउण्डेसन नेपाल (एचएफएन)सँग बुधबार दुुई लाखबराबरको आर्थिक सहायता सहितको सहकार्य गर्ने भएको छ । बैंकले सामाजिक उत्तरदायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत एचएफएनलाई कोरोनाविरुद्धको लडाइँमा संस्थाको एन ९५ यूभीजीआई डिकन्ट्यामिनेसन प्रोजेक्टको लागि सहयोग गरेको हो । एचएफएनको एन ९५ डिकन्ट्यामिनेसन प्रोजेक्टअन्तर्गतको यूभीजीआई प्रविधिले वर्तमान स्थितिमा स्वास्थ्यकर्मीहरूले प्रयोग गर्ने एन ९५ मास्क र पीपीईलाई पुन प्रयोग गर्न मिल्ने गरी जीवाणुरहित बनाउँदछ। सो प्रविधिअन्तर्गत प्राविधिक रूपमा उपयुक्त डिकन्ट्यामिनेसन तरिका अपनाइएमा अल्ट्रा भाइलेट प्रकाशको प्रयोगले एउटै एन ९५ मास्कलाई पनि कम्तीमा पाँच पटकसम्म सुरक्षित तरिकाले पुनः प्रयोग गर्न मिल्ने तथ्यहरूले देखाएको छ ।
स्वास्थ्यकर्मीहरूको प्रयोगको लागि अत्यावश्यक एन ९५ मास्क र पीपीईको सजिलो पूर्तिको लागि यो प्रविधिले उल्लेखनीय योगदान पु-याउनेछ । एचएफएनले पहिलो चरणमा नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरसँगको सहकार्यमा देशभरको २८ विभिन्न अस्पतालमा सो प्रविधि स्थापना गर्नेछ । डिजिटल वेबिनारमार्फत भएको उक्त सहकार्य सम्झौतामा ज्योति विकास बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेल तथा हेल्थ फाउण्डेसन नेपाल (एचएफएन) का कार्यकारी निर्देशक मदनराज भट्टले हस्ताक्षर गरेका हुुन् ।
समाजमा प्रभावकारी योगदान पु-याउने हेतुले स्थापित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक कार्यमा सहकार्य गर्दे आएको छ र आगामी दिनहरूमा पनि समाजमा परिवर्तन ल्याउने खालका कार्यक्रमहरूमा सहयोग गर्ने प्रतिबद्धता गरेको छ । हाल बैंकले एक सय पाँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ५६ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ । हालसम्म बैंकले तीन लाखभन्दा बढी खाताबाट करिब ३४ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई करिब २९ अर्ब रूपैयाँ लगानी गरेको छ ।