काठमाडौं, जेठ ११
सिद्धार्थ इन्स्योरेन्स कम्पनीले शाखालाई संक्रमणरहित बनाएर सञ्चालन गरेको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै भनेको छ, विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण सिर्जित असामान्य परिस्थतिमा तोकिएबमोजिमको सावधानी अपनाई सिमित कर्मचारीबाट कम्पनीले आफ्नो सेवालाई निरन्तरता दिँदै आएको छ । सोही क्रममा कम्पनीको कमलादी शाखामा कार्यरत एक जना कर्मचारीलाई कोभिड १९ को संक्रमण देखिएको र निजको अस्पतालमा उपचार भइरहेको छ । संक्रमण देखिएपश्चात् उक्त शाखालाई तत्काल सिल गरी संक्रमित कर्मचारीहरूको सम्पर्कमा आएका सम्पूर्ण कर्मचारीहरूको पिसिआर परीक्षण गराउँदा सबैको रिर्पोट निगेटिभ आएको छ ।
उक्त शाखा कार्यालको नेपाल सरकारले तोकेको मापदण्डबमोजिम सरसफाइ एवं संक्रमणरहित गर्ने कार्यसम्पन्न गरिएको छ । सोपश्चात् यही जेठ ११ गते अर्थात् आजबाट कम्पनीको उक्त शाखा सीमित कर्मचारीहरूबाट सञ्चालन हुुने र बीमीतहरूले पूर्ववतरूपमा सेवा लिन सक्नेछन् । यो विषम परिस्थितिमा पनि कम्पनी उत्कृष्ट बीमा सेवा दिन प्रतिबद्ध रहेको छ, कम्पनीले विज्ञप्तिमार्फत भनेको छ । हाल चुत्ता पुँजी एक अर्ब रूपैयाँ रहेको कम्पनीले चलू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १६ करोड तीन लाख ३६ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यसतो नाफा १८ करोड १० लाख १८ हजार रूपैयाँ रहेको थियो ।