काठमाडौँ । परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एन्ड स्टिलले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् खपत गरेबापत गरिएको छुट बिलको बक्यौता रकम तिर्न सुरु गरेको छ ।
नेपाल विद्युत् प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप कार्यकारी निर्देशक मनोज सिलवालले आठ करोड १२ लाख बक्यौतामध्ये हिमाल आइरनले मंगलबार पहिलो किस्ताबापत २७ लाख १० हजार बुझाएको जानकारी दिए ।
प्राधिकरणले उद्योगको शुक्रवार काटेको लाइन उद्योगले बक्यौताको पहिलो किस्ता बुझाएपछि सोमबार राती नै विद्युत् लाइन जोडिएको उप कार्यकारी निर्देशक सिलवालले बताए ।
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने उपभोक्तालाई छुट बिलिङ गरिएको विद्युत् खपतको महसुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जति महिनाको छुट बिल जारी गरिएको त्यति नै महिनाको वा बढीमा ६० महिनाको किस्ताबन्दीको सुविधा दिने विशेष व्यवस्था बोर्डबाट गरिएको जानकारी दिए ।