काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै १० करोड रूपैयाँभन्दा बढी रकम ठगी गरेको अभियोगमा सी स्टार ट्रेनिङ सेन्टरका संचालक ४७ वर्षीय लाल बहादुर लामा पक्राउ परेका छन् । ललितपुर कोन्जोसोम गाउँपालिका–१ बस्ने लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महाराजगंजस्थित उक्त ट्रेनिङ सेन्टर संचालन गरेका लामाले पीडितहरूलाई वैदेशिक रोजगारीको लागि लिथोनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकहरूमा आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरूबाट उक्त रकम ठगी गरी फरार थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौंको शंखमूलबाट पक्राउ गरेको हो ।
लामाले पीडितहरूबाट पाँच लाखदेखि १५ लाख रूपैयाँसम्म लिई वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय व्यक्ति सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको समेत अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले बताएको छ । उक्त ट्रेनिङ सेन्टरबाट नौ सय ९७ थान राहदानी समेत बरामद भएको छ । प्रहरीका अनुसार उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।