काठमाडौं । ट्रेड युनियन महासंघको साझा संस्था संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी)ले विद्युत्को महसुल तत्काल भुक्तानी गरी श्रमिकको रोजगारीको सुनिश्चितता गर्न उद्योगहरुसँग माग गरेको छ ।
जेटीयुसीसीले एक विज्ञप्ति जारी गरी नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको डेडिकेटेड लाइन र ट्रंकलाइन उपभोग गरेका उद्योगहरूले विद्युत् वास्तविक महसुल तिरी उद्योग सञ्चालनमा ल्याउन माग गरेको छ । विद्युत् महसुल लामो समयदेखि बक्यौता राखेको उद्योगहरूको प्राधिकरणले विद्युत् लाइन काटिदिएको छ । प्राधिकरणले लाइन काटेपछि उद्योगहरू बन्द हुँदा श्रमिकहरू बेरोजगार भएको जेटीयुसीसीले जनाएको छ । यस्तै, केही उद्योगहरूले सोही बहानामा श्रमिकलाई कामबाट निकाल्ने, जगेडामा राख्नेजस्ता कार्य गरेको जेटीयुसीसीले उल्लेख गरेको छ ।