काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुधबार भएको ‘दिगो विकासको वर्तमान अवस्था र भविष्य’ विषयक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धिका लागि नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो औँल्याएका छन् । उनले परम्परागत ढङ्गको कृषि प्रणालीबाट मुलुकको समृद्धि सम्भव नभएको बताए ।
आधुनिक कृषि प्रणालीको अवलम्बन गरिनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले कृषि क्षेत्रको विकासबाट रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा आयात प्रतिस्थापन गर्न सकिने बताए । नेपालको दिगो विकासको मूल आधार कृषि नै रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालले सोह्रौँ पञ्चवर्षीय योजनामा कृषिको भूमिकालाई प्रतिविम्बित गर्न खोजिएको बताए । उनले वर्तमान सरकार कृषिलाई मुख्य आधार बनाएर समृद्धिको यात्रामा होमिएको उल्लेख गरे । उनले कृषिलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।
प्रधानमन्त्री दाहालले हरित क्रान्तिका निम्ति भारत सरकारको पहल उदारहणीय रहेको उल्लेख गर्दै भारतको उपलब्धि नेपालजस्ता मुलुकले सिक्न लायक रहेको बताए । नेपालको सन्दर्भमा उपयुक्त हुने विषय अनुशरण गर्न तयार रहेको उनको भनाइ थियो ।
सो अवसरमा दिगो विकासका लागि कृषिको भूमिका सम्बन्धी प्रस्तुति दिँदै पतञ्जलि योगपीठका महासचिव आचार्य बालकृष्णले कृषि क्षेत्रमा गर्न सकिने कामका बारेमा जानकारी गराएका थिए । उनले दिगो विकासका लागि कृषिमा आधारित काम कसरी गर्न सकिन्छ भन्ने अवधारणा पेस गरेका थिए ।
उक्त कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलगायतको सहभागिता थियो ।