काठमाडौं । वैदेशिक रोजगारीको लागि रोमानिया पठाईदिन्छु भनि २१ लाखभन्दा बढी रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । उक्त ठगी आरोपमा हाल काठमाडौंको बाङगेमुढा बस्ने दोलखाका ५० वर्षीय ढाल बहादुर बुढाथोकीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले आज(बुधबार) पक्राउ गरेको हो ।
उनले मिलन नेपालीसमेत गरी १४ जनालाई वैदेशिक रोजगारीको लागि रोमानिया पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति छ लाख रुपैयाँ लाग्छ भनि रकम ठगी गरेका थिए । रोमानिया पुगेपछि मासिक एक लाख रुपैयाँभन्दा धेरै तलबमा फुड प्याकिङमा काम लगाइदिन्छु भनी विश्वास दिलाई पीडितहरुबाट पटकपटक गरी २१ लाख ३६ हजार रुपैयाँ रकम लिई बुढाथोकी सम्पर्कविहीन भएका थिए ।
उक्त ठगी गरेकोले खोजीतलास गर्ने क्रममा असनबाट बुढाथोकीलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।