काठमाडौं । वीरगन्जबाट पोखरा जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस तनहुँमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । प्रहरीका अनुसार आज(बिहीबार) बिहान ४:४० बजे तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारको ठूलो पहिरोस्थित पृथ्वी राजमार्ग सडक खण्डमा दुर्घटना भएको हो ।
प्रहरीले बस अनियन्त्रित भएर सडकबाट अन्दाजी ५६ फिट तल खोलामा खसेर दुर्घटना भएको जनाएको छ । दुर्घटनामा परी चालकसहित ३२ जना घाइते भएको र तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेमध्ये दुई जनाको गण्डकी अस्पताल पोखरा, एक जनाको पोखरा शिक्षण अस्पताल र २९ जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र अस्पताल तनहुँमा उपचार भइरहेको जनाइएको छ ।