काठमाडौं । एनआई सी एशिया बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित श्री मोहन्याल माध्यमिक विद्यालय वडहरियामा पुस्तकालय भवन निर्माण गरिदिएको छ । प्रमुख सूचना अधिकारी तथा नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेका अनुसार बैंकले मुलुकका सातै वटा प्रदेशमा विभिन्न विद्यालयहरु छनौट गरी पुस्तकालय भवन निर्माण गर्ने उद्देश्यका साथ अगाडि बढ्ने क्रममा सुदूरपश्चिम प्रदेशमा विद्यालय र गाउँपालिका कार्यालयसँगको सहकार्यमा उक्त पुस्तकालय भवन निर्माण गरिदिएको हो ।
पाण्डेले यस नवनिर्मित पुस्तकालय भवनबाट विद्यालयमा अध्ययनरत एक हजारभन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बताएका छन् । उक्त पुस्तकालय भवन जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरी, विद्यालयका प्रधानाध्यापक देबेन्द्र प्रसाद शाह, बैंकका प्रादेशिक प्रमुख सुवास जोशी तथा जोशीपुर शाखा प्रबन्धक उजिर सिंह भण्डारीलगायत स्थानीय निकाय एवं विद्यालयका पदाधीकारीहरुको उपस्थितिमा समुद्घाटन भएको हो ।
यस भवन निर्माणपश्चात् विद्यालयमा व्यवस्थित पुस्तकालय स्थापना गरी त्यहाँबाट विद्यार्थीहरुलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीहरुमा सहज पहुँच भई विद्यार्थीहरुको शैक्षिक प्रदर्शन एवं व्यक्तित्व विकासमा ठोस टेवा पुग्ने बैंकको विश्वास छ ।
हाल बैंकले मुलुकभर तीन सय ६० शाखा कार्यालय, छ सय ७० एटिएम, एक सय ११ वटा विस्तारित काउन्टर एवं ५५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । बैंकको स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कूल २३ अर्ब ५८ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा तीन अर्ब ६६ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन सफल भएको बैंकको भनाई छ ।