पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले महिला तथा बालिकालाई यौनशोषण क्रियाकलापमा लगाउने तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका वडा नं.८ जाल्पारोडस्थित काभ्रेली खाजाघरका सञ्चालक पोखरा ९ पृथ्वीचोक बस्ने २९ वर्षीय प्रवीण गुरुङ, पर्वत घर भइ काठमाडौंको शंखमूल बस्ने २३ वर्षीय निर्मल मल्ल र पोखरा १७ बिरौटा बस्ने राजेश ठकुरीलाई पक्राउ गरेको हो ।
कास्की प्रहरीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रवणकुमार विकका अनुसार काभ्रेली खाजाघरका सञ्चालकले दुई महिला तथा एक बालिकालाई यौन शोषणमा संलग्न गराउन बाहिर लैजान लागेको अवस्थामा प्रहरीले उनीहरुको उद्धार गरेको थियो ।
घटनाको अनुसन्धान क्रममा प्रहरीले खाजा घरका सञ्चालकले सुरुमा होटलमा काम दिने भन्दै सरसफाइको काममा लगाउने र पछि राम्रो कमाइ हुन्छ भन्दै पुरपुरुषसँग भेट गराई यौनजन्य गतिविधिमा लगाउने गरेको खुलेको डिएसपी विकले जानकारी दिए । पक्राउ परेका तीनै जनाविरुद्ध मानव वेचविखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको डिएसपी विकले बताए ।