काठमाडौँ । यही पुस २७ गते ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्ने भएको छ ।
प्रवक्ता मोहन श्रेष्ठले उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि, धार्मिक सङ्घ सङ्गठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मी, बुद्धिजीवी लगायतलाई निमन्त्रणा गरिएको प्रवक्ता श्रेष्ठले बताए। सोही दिन सो पार्टी केन्द्रले सिंहदरबारस्थित शालिकमा माल्यार्पण कार्यक्रम गर्नेछ ।
श्रेष्ठका अनुसार पार्टीले सोही दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा केन्द्र, प्रदेश र स्थानीय तीनै तहमा पृथ्वीनारायण शाहको व्यक्तित्व तथा इतिहास झल्काउने गरी सभा गोष्ठी, शुभकामना आदानप्रदान तथा चियापान समारोह, दिपावलीलगायत कार्यक्रम गरी उत्सवका रुपमा मनाउन सबैलाई पत्राचार गरिएको छ । देशभर पृथ्वीजयन्ती दिवसका रुपमा मनाउन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा मूल समारोह समितिसमेत गठन गरिएको छ ।