काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा गत असोजमा घुस लिदालिदैँ पक्राउ परेकी चन्द्रागिरी नगरपालिकाको १४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सव–इन्जिनियर बिजया लक्ष्मी पन्तलाई कैद सजायको माग गरिएको छ । अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाका अनुसार पक्राउ परेकी पन्तलाई कैद सजाय र जरिवाना सजायको मागदावी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
अख्तियारले विज्ञप्तिमार्फत भनेको छ, ‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेको पुष्टि भएको हुँदा निज विजया लक्ष्मी पन्तलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)को कसुरमा बिगो २५ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवानाको सजाय हुन मागदावी लिई बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’
उनलाई भवन निर्माण सम्पन्न भएको प्रमाण–पत्र दिने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारबाट खटिएको टोलीले सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । अनुसन्धानको सिलसिलामा चन्द्रागिरी नगरपालिका वडा नं.१४ को कार्यालय नयाँ नैकापमा कार्यरत असिष्टेन्ट सव–इन्जिनियर पन्तले सेवाग्राहीसँग भवन निर्माण सम्पन्न प्रमाणपत्र दिनको लागि २५ हजार रुपैयाँ घुस माग गरेकी थिइन् ।
