काठमाडौं । केही दिनअघि एनसेल घोटालाका बारेमा बयान दिन संसद्को राज्य व्यवस्था तथा सुशासन समिति पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नी स्वकीय सचिव समेत रहेकी कान्छी छोरी गंगा दाहाललाई ‘बिचरा त्यो’ भनी टिप्पणी गरेछन् र उनीविरुद्धको टिप्पणीलाई लोकतान्त्रिक गणतन्त्रको विरोध भन्न समेत भ्याएछन् ।
माओवादी शान्ति प्रक्रियामा आएपछि प्रचण्डका नाममा सुरक्षित भएका क्यान्टोन्मेन्ट काण्डदेखि हालैको एनसेल काण्डसम्म यस्ता अनेकौँ काण्ड रहेका छन् । तीमध्ये पछिल्ला दिनमा सत्ताको आडमा भएका काण्डहरूमा कहीँ न कहीँ प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिव गंगा दाहालको नाम जोडिने गरेको छ । समितिमा उनकै वरपर भएका टिप्पणीहरूको प्रतिरक्षा गर्दागर्दै लोकतान्त्रिक गणतन्त्रमाथिको हमला समेत भन्न भ्याए र आफ्नी स्वकीय सचिव गंगालाई ‘बिचरा त्यो’ भन्ने विशेषण भिराएर निर्दोष बनाउने प्रयास गरे ।
यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए । उनको पालामा उनकी धर्मपत्नी डा. आरजू देउवाका बारेमा यस्तै टिप्पणी हुन्थे, सत्ताका हरेक निर्णयमा उनलाई जोडेर टिप्पणी हुनेगरेको थियो । यहाँसम्म कि कांग्रेसकै वैशाखीमा टिकेको प्रचण्ड नेतृत्वको सरकारले नक्कली भुटानी शरणार्थी काण्डमा जोडेर गत असार १० गते उनलाई झण्डै समातेको थियो । समाचार चुहिएपछि आपत प¥यो र प्रचण्डका गृहमन्त्री नारायणकाजी श्रेष्ठले बहादुरीपूर्वक पछि हटेर आत्मसमर्पण गरेर पद जोगाएका थिए ।
पूर्वगृहमन्त्री वालकृण खाँण त परे नै, उनकी श्रीमती मञ्जु खाँणलाई गृहप्रशासनले हायलकायल पार्ने प्रयास गरेको थियो तर रोकियो । पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलालाई आरजूसँगै समाउने प्रपञ्च पनि सफल भएन । उनलाई भारतीय नागरिक बेचैन झासँगको सम्बन्धलाई जोडेर पक्राउ गर्न असफल निर्देशन भएको थियो । त्यसमा सबै दोष दुई जना प्रहरी अधिकृतलाई दिएर पद जोगाउनुपरेको घटना अझै सेलाएको छैन ।
यी सबै आ–आफ्नो ठाउँका ‘बिचरा त्यो’ हुन् । तीमध्येका अब्बलचाहिँ पदीय मयार्दाका हिसाबले पनि गृहमन्त्री श्रेष्ठलाई ‘वरिष्ठ त्यो’ ठानिनु अन्यथा नहोला । माधव नेपालका लागि मन्त्री प्रकाश बुढाथोकी ‘बिचरा त्यो’ भएका होलान्, कसैका लागि पूर्वमन्त्री रामचन्द्र अधिकारी ‘बिचरा त्यो’ थिए होलान्, कसैका लागि अहिलेका कानुन मन्त्री धनराज गुरुङ ‘बिचरा त्यो’ होलान् । शुभचिन्तकहरूले शंकर भण्डारीलाई ‘बिचरा त्यो’ भन्लान्, कसैले यो उमेरसम्म बिहे नभएको ‘बिचरा त्यो’ भनेर रामहरि खतिवडालाई भनिदिए पनि हुन्थ्यो नि भन्ने पनि होलान् ।
अरुले खसीबाख्रासँग नाम जोडेर प्रचार गरेको सुन्दा अर्जुन नरसिंह केसीले आफ्ना ज्वाइँ गगन थापालाई निर्दोष देखाउन ‘बिचरा त्यो’ भन्नै पाउन्नन् भन्न पनि मिल्दैन । बहुदल आएपछि पञ्चायतबाट सोझै राप्रपामा अवतरण गरेका स्वयम् केसीलाई गणेशमान सिंहले ‘बिचरा त्यो’ भनेरै कांग्रेसमा फर्काएका थिए । २०४८ पछि निर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जीवनको ऊर्जावान् समय मुलुकमा बस्न नसकेर विदेशी जागिर खाएर पनि प्रजातन्त्र पुनर्स्थापना भएपछि फेरि देश सम्झेर स्वदेश फर्किएका ‘बिचरा त्यो’ रामशरण महतलाई चुनाव हारे पनि कहीँ न कहीँ ‘एडजस्ट’ नगरी हुँदै नहुने अडान लिएका थिए । अहिले डा. प्रकाशशरण महतलाई सभापति देउवाले त्यसैगरी तान्नु परेको छ । त्यति लिफ्ट पाएपछि दायाँबायाँ लम्कन खोज्नु बिचरा उसको के दोष ? मन्त्रीहरू त मन्त्री भैहाले, उनीहरूका श्रीमतीहरूको दिनभर काम हुँदैन, श्रीमान्को काममा थोरबहुत सहयोग गर्दा नराम्रो देख्नेहरू देख्दै गरुन् तर ती त ‘बिचरा त्यो’हरू हुन् । आफैँ के पो निर्णय गर्न सक्छन् र ?
गिरिजाप्रसादको पालामा बिचरा नोना भाउजूप्रति साह्रै अन्याय भयो, जे काण्ड भए पनि नाम जोड्ने । यहाँसम्म कि स्वयम् गिरिजापुत्री सुजाता कोइरालाले पनि त्यो विषयलाई निकै मलजल गरिन्, अनि पछिल्लो समय गिरिजाप्रसादका हरेक निर्णयमा उनकी छोरीको स्वार्थ देख्न थालियो, बल्ल त्यतिबेला सुजाता कोइराला गिरिजाप्रसाद कोइरालाको ‘बिचरा त्यो’ बन्न पुगिन् ।
आफूलाई स्वर्गीय गिरिजाप्रसाद कोइरालाको अनन्य भक्त अनुयायी ठान्ने प्रधानमन्त्री प्रचण्डले समितिको बैठकमा आफ्ना सन्तानका नाममा दुई छोरी मात्र रहेको पीडाका साथ बताए तर उनका राजनीतिक गुरु स्वर्गीय गिरिजाप्रसाद कोइरालाको त एकमात्र छोरी थिइन् । तर पनि यसरी सत्ताका निर्णयमा नाम जोडिँदा छोरी सुजातालाई ‘बिचरा त्यो’, भनेर कहिल्यै भनेको सुनिएन । हुन त सुजाताको लागि बंगलादेशी ज्वाइँ रुवेल चौधरी ‘बिचरा त्यो’ लाग्दो हो, पूर्वराजा ज्ञानेन्द्रलाई एक्लो छोरो पारस ‘बिचरा त्यो’ लाग्ला तर यसरी सार्वजनिकरूपमै चाहिँ कसैले रोइलो मच्चाएका थिएनन् । गर्न त पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले कम्ता भाँडभैलो मच्चाएका छैनन् । अहिले जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल भनिने राकेश महरा र पूर्वगृहमन्त्री रामबहादुर थापाका स्वकीय सचिव समेत रहेका हाल फरार प्रतीक थापाले जे–जति गरे, दिपेशकै सल्लाहमा गरे भन्छन् ।
आफ्नो छोरो सुनकाण्डमा जेल जाँदासम्म पनि नेता महरा आफू नगएकोमा खुसी त होलान् तर छोरो गएपछि ‘बिचरा त्यो’ भन्न सकिरहेका छैनन् । छोरो फरार रहेको समाचार सुनिरहँदा पूर्वगृहमन्त्री थापाले छोरा प्रतिकलाई यसरी ‘बिचरा त्यो’ भन्न सकेका छैनन्, न त आफूसँग नक्कली भुटानी शरणार्थी काण्डमा छोरो सन्दीप रायमाझी पनि जेल पर्दा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले उसको बचाउमा ‘बिचरा त्यो’ भन्ने आँट गरेका छन् ।
बलबहादुर केसीलाई मण्डलेहरूले कालोमोसो दल्दा न कसैले ‘बिचरा त्यो’ भने, न त जेल जाँदा । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा होस् या आफैँ मन्त्री हुँदा हिसिला यमिले कम्ती हुर्नामी कमाएकी थिइनन् । दक्षिण एसियाकै भ्रष्ट महिला भनेर अन्तर्राष्ट्रिय मिडियाले टिप्पणी गर्दा पनि बाबुराम भट्टराईले ‘बिचरा त्यो’, के गरेकी छ र भन्न सकेनन् । पूर्वप्रधानमन्त्री झलनाथ खनालका छोरा निर्भिक खनाल र पूर्वउपप्रधानमन्त्री बामदेव गौतमका छोरा हरिश गौतम पनि यस्ता ‘स्क्यान्डल’बाट टाढा रहेका व्यक्ति होइनन् । उनीहरू पनि एक्ला एक्ला छोरा हुन् । तर पनि खनाल र गौतमले आफ्नो छोराको बचाउ गर्दै ‘बिचरा त्यो’ भन्नुपर्ने दिन आएको छैन ।
निरंकुश पञ्चायत व्यवस्थाविरुद्ध लाग्दा जन्मकैद पाएका माथवरसिंह बस्नेत, जानकीप्रसाद कुईँकेल, तीर्थराज चैत, पदम लामा, भीम लामाहरूलाई ‘बिचरा त्यो’ भन्ने कोही भएनन् । माफी नमागेका कारण कृष्णप्रसाद भट्टराई अरु नेता छुट्दा पनि जेलबाट छुटेका थिएनन् । उनी नछुट्दा राजालाई पनि समस्या छुट्ने नेताहरूलाई पनि छटपटी थियो ।
पञ्चायती प्रशासनले उनलाई मध्यरातमा टेकु खरीबोटमा लगेर बेवारिस छाडेको थियो, त्यतिबेला उनको खानेबस्ने ठाउँको कुनै टुंगो थिएन तर पनि ‘बिचरा त्यो’ भन्ने कोही थिएन । हालसालैको जाजरकोट भूकम्पको पीडाबाट रन्थनिएका जनतालाई बिचरा ती भन्ने कोही छैन । तर, प्रधानमन्त्री प्रचण्डले आफ्नी स्वकीय सचिव रहेकी छोरी गंगालाई ‘बिचरा त्यो’ भनेर हाँस्यपात्रको भाष्य विकास गरेका छन् ।
प्रचण्डका कुशासनमा भएका काण्डहरूमा किन उनकी छोरीको नाम मुछिएको होला ? के मिडियाले कुरै नबुझेर मात्र उनको नाम मुछेको हो कि मिडियाले बदमासी गर्यो भनेर प्रधानमन्त्री प्रचण्डले छोरी जोगाउन सहानुभूति खोजेका हुन् ? उनका शासन कुशासन के छन् ? वर्गीय विभेद अन्त्य गर्न भएको जनयुद्धपछिको उनको सत्ताले जनयुद्धकारीभित्रैबाट नयाँ धनी र विपन्न दुई वर्ग विकास गरेको कुरा उनले नमाने पनि उनका निष्ठावान् जनयुद्धकारी सहकर्मीहरू नै अस्वीकार गर्दैनन् ।
जनयुद्धमा सँगै भोकै लड्दै हिँडेकाहरूमध्येबाटै अर्बपति समेत बनिसकेका छन्, करोडपति त कति हुन् कति ? तर अहिले पनि उही अवस्था रहेको संख्या झन् बढी छ । प्रचण्डकी स्वकीय सचिव गंगाको ‘बिचरा त्यो’ हुने योग्यता र क्षमता पनि उनीहरूलाई थाहा नभएको होइन र प्रचण्डले विकास गरेको भाष्य ‘बिचरा त्यो’प्रति उनीबाहेक अरुको विश्वास पनि छैन । यो भाष्यले उनी स्वयम् ‘बिचरा त्यो’मा रूपान्त्तरण हुँदै जाने खतरा बढ्दै गएको छ ।