काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले औद्योगिक क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा टं«क लाइनको महसुल नतिरहेको भन्दै ठूला उद्योगहरूको बिजुली काट्न थालेपछि त्यसको प्रतिकुल प्रभाव निर्माण उद्योगमा पनि परेको महासंघले जनाएको छ ।
महासंघका महासचिव रोशन दाहालले एक विज्ञप्ति जारी गरी राज्यबाट व्यवसायीले निर्माण कार्य गरेको भुक्तानी नपाएको कारण समग्र निर्माण उद्योग नै समस्याग्रस्त रहेको अवस्थामा यसरी उद्योगहरू समेत बन्द हुँदा निर्माण उद्योग थप मारमा परेको उल्लेख गरेका छन् । उद्यमीहरू नियमानुसार उपभोग गरेको विद्युत्को बाँकी बक्यौता तिर्न तयार हुँदाहुँदै प्राधिकरणले हठात् लाइन काटेबाट राज्य आफ्नो अभिभावकीय दायित्वबाट पछि हटेको हो कि भन्ने महसुस भएको महासंघले जनाएको छ । उच्चस्तरीय समिति बनाएर वार्ताद्वारा नै समस्या समाधान गरी औद्योगिक वातावरण खलबलिन नदिन पनि महासंघले आग्रह गरेको छ ।