ढाका । बंगलादेशमा आइतबार आम निर्वाचन सम्पन्न भएको छ । प्रमुख प्रतिपक्षीसहित केही साना दलहको बहिस्कारका बीच मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले जम्मा ४० प्रतिशत मत खसेको जनाएको छ । प्रतिपक्षीको बहिस्कारबीच मतदान भएकोे र न्यून मतदान भएपछि निर्वाचनको विश्वसनीयतामाथि प्रश्न उठेको छ । बंगलादेशमा करिब १२ करोड मतदाता छन् ।
मतदान सकिएलगत्तै मतगणना सुरु भएको छ भने सोमबार बिहानसम्म नतिजा आइसक्ने निर्वाचन आयोगले जनाएको छ । विपक्षी दलको बहिस्कार भएकाले प्रधानमन्त्री शेख हसिनाको दल ‘आवामी लिग’ले अधिकांश स्थानमा विजय हासिल गर्ने बताइएको छ ।
आवामी लिगको विजय भए शेख हसिना चौथो पटक प्रधानमन्त्री बन्नेछिन् । उनी सन् २००९ देखि बंगलादेशको प्रधानमन्त्री रहँदै आएकी छन् ।