प्युठान । प्युठानको प्युठान बसपार्क टिकुरीदेखि भारतको राजधानी नयाँ दिल्लीसम्म नेपाल–भारतमैत्री बस सेवा सुरु भएको छ । आज(सोमबार)देखि सुरु भएको उक्त सेवाको उद्घाटन नेपाल लुम्बिनी प्रदेश सरकारका उद्योग तथा यातायातमन्त्री सरोज थापाले गरेका थिए ।
उद्घाटनपश्चात यातायात क्षेत्रको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै मन्त्री थापाले भने, ‘नागरिकले गुनासो नगर्ने गरी सेवा प्रवाह गर्न बस सञ्चालक सचेत हुनुपर्छ ।’ साथै, उनले आफ्नो कार्यकालमा प्युठानमा यातायात कार्यालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सो अवसरमा निजी क्षेत्रको स्वर्गद्वारी गौमुखी यातायात सेवाले दैनिक प्युठान–नयाँ दिल्ली बस सेवा सञ्चालन गरेको गौमुखीका अध्यक्ष सुनील बस्नेतले जानकारी गराए ।