काठमाडौं, जेठ १२
लुम्बिनी विकास बैंकले आफ्ना कर्मचारीहरूको कोरोना भाइरस (कोभिड १९) महामारीविरुद्धको बीमा गरेको छ । बैंकमा कार्यरत हरेक कर्मचारीहरूको स्वास्थ्यको ख्याल गर्दै प्रतिकर्मचारी एक लाखको कोरोना बीमा गर्न एभरेष्ट इन्योरेन्स कम्पनीसँग सम्झौता गरेको बैंकले जानकारी दिएको छ । सम्झौताअनुसार बैंकमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पीसीआर टेस्ट पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकिएबमोजिमको रकम क्षतिपूर्तिबापत उपलब्ध गराउने छ । यो पोलिसी मिति २०७७ जेष्ठ ९ गतेदेखि लागू भई १ वर्षसम्म मान्य हुने बैंकले जानकारी दिएको छ ।
कोरोनाको महामारी फैलिएको यो परिस्थितिमा अहोरात्र खटिरहेका कर्मचारीको मनोबल केही हदसम्म भए पनि बढ्ने बिश्वास बैंकले लिएको छ । यो विषम परिस्थितिमा सम्भव भएसम्म डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्न समेत बैंकले ग्राहकलाई आग्रह गरेको छ । बैंक हालसम्म देशभरका सातवटै प्रदेशमा ६८ वटा शाखा र १६ वटा एटीएममार्फत करिब साढे दुई लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।